खबर पूर्वाञ्चल
रौतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहाका २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीयाका ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको हो । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन् । कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाब मध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख साहले जानकारी दिए । देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भारतको राजधानी दिल्लीबाट नेपाल आएका थिए । संक्रमित दुवैजना लकडाउन कार्यान्वयन भएपछि चोरबाटो हुँदै भारतबाट नेपाल छिरेको खुलेको छ ।