विराटनगर / नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को उपचारपछि निको हुनेको सङ्ख्या ४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निको भएर डिस्चार्ज हुनेको सङ्ख्या बढ्दै गएको बताए । उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक २१ वर्षीय युवक आज निको भएर घर फर्किएका छन् । यसअघि हिजो काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया महिला कोरोनाको उपचारपछि डिस्चार्ज भएका थिए ।
नेपालका पहिलो कोरोना सङ्क्रमित भने गत माघमा डिस्चार्ज भएका थिए । कोरोना सङ्क्रमित अरु २७ जनाको भने मुलुकका बिभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्यअवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए ।
तपाईको प्रतिक्रिया