खबर पूर्वाञ्चल
लामो समयदेखि सीमा नाकामा रोकिएका कारण उनीहरु लुकिछिपी प्रवेश गर्ने र त्यसरी प्रवेश गरेकाहरुबाट कोरोना भाइरस संक्रमण फैलिने खतरा झन धेरै हुने भन्दै सरकारले उनीहरुलाई सुरक्षित रुपमा प्रवेश गराउने तयारी अघि बढाएको हो । लुकीछिपी आउनेहरुबाटै कोरोना भाइरस सर्ने सम्भावना बढी देखिएकाले सीमा नाकाबाट प्रवेश गराएर उनीहरुलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँच गर्ने र रिपोर्ट नेगेटिभ आएकाहरुलाई उनीहरुकै सम्बन्धित पालिकामा जिम्मा लगाउने व्यवस्था मिलाउन लागिएको जनाइएको छ ।
प्रदेश सरकारले इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, केचनकवल र गौरीगञ्ज, मोरङको रंगेली र रानी, सुनसरीको भान्टाबारी नाकाबाट अलपत्र परेका नेपालीलाई प्रवेश गराउने आन्तरिक तयारी गरिरहेको स्रोतले जनाएको छ । तर सो कुरालाई सरकारले भने सार्वजनिक गरिसकेको छैन ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाका अनुसार नेपाल प्रवेश गर्न चाहनेहरुको सवैभन्दा बढी चाप काँकडभिट्टा नाकामा रहेको छ । नेपाल प्रवेश गरेका बाहेक एक हजार जना मानिसहरु भारततर्फ रोकिएका छन् । त्यस्तै झापाको कचनकवल, भद्रपुर र गौरीगञ्ज नाकामा पनि केही मानिस नेपाल प्रवेश गर्ने प्रतीक्षामा छन्् ।
भारतसँगको सीमा नाकामा स्वदेश आउन चाहने नेपालीहरुको चाप बढेपछि प्रदेश सरकारले सीमामा रहेका नेपालीहरुलाई स्वदेश भित्र्याउने आन्तरिक तयारी गरिरहेको जनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यसको तयारी अघि बढाएको हो ।
नेपालमा रहेका भारतीय नागरिकहरुलाई समेत घर फर्काउने गरी विवरण संकलन भइरहेका कारण दुइपक्षीय रुपमा नागरिकहरुलाई प्रवेश गराउने बिषयमा निर्णय लिइने जनाइएको छ । त्यस बिषयमा भारतले अवलम्बन गर्ने नीति सार्वजनिक हुन ढिलो हुँदा सीमा नाकामा अलपत्र परेका नेपालीहरुलाई प्रवेश गराउने प्रक्रिया अघि नबढेको हो । स्रोतका अनुसार आईतबारसम्ममा भारतले नयाँ निर्णय गर्ने सम्भावना रहेकाले अरु दुई दिन पर्खिएर मात्रै मानिसहरु प्रवेश गराउने पक्षमा प्रदेश सरकार रहेको छ ।
मोरङको प्रहरी स्रोतका अनुसार मोरङ जिल्लाको सीमा नाकामा २ सय ३५ जना व्यक्तिहरु नेपाल प्रवेश गर्न पर्खिएर बसेका छन् । अझै मानिसहरु थपिने क्रम जारी छ । मानिस आउने क्रम सुरु भए उनीहरुलाई कहाँ राख्ने भन्ने कुराको समस्या पनि बढेको हो ।