विराटनगर / उदयपुरमा एकैदिन १२ जनामा कोरोना संक्रमण देखिएपछि त्रसित बनेको प्रदेश १ मा आज र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा सुनसरी र तेह्रथुमका एक– एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा गर्दा सुनसरीको हरिनगरा र तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका १–१ जनामा एण्टीबडी पोजेटिभ देखिएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार सुनसरीको हरिनगर गाउँपालिकाका पुरुषलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने तेह्रथुमका व्यक्ती जिल्ला अस्पतालको आइसोलेशनमा रहेको जानकारी दिए । तेह्रथुमबाट शंकास्पदको थ्रोट स्वाब संकलन गरेर ल्याउने तयारी भइरहेको उनले बताए ।
सुनसरीमा देखिएको एण्टीबडी पोजेटिभ प्रदेश सरकारले पुष्टि गरेको छ भने तेह्रथुममा पनि पोजेटिभ देखिएको जिल्ला स्वास्थय कार्यालय तेह्रथुमले जनाएको छ ।
सुनसरीका एक जनामा पहिलो पटक गर्दा पोजेटिभ देखिएपनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर थप परीक्षणका लागि धरान पठाइएको उनले बताए ।
तेह्रथुमबाट शंकास्पद ४ जनाको थ्रोट स्वाब संकलन गरेर वीपीमै पठाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले जानकारी दिए । तेह्रथुममा पोजेटिभ देखिएका व्यक्ति केहि दिन अगाडि धनकुटा गएर फर्किएको बताइएको छ । उनी जिल्ला अस्पतालको आइसोलेशनमा छन् ।
शंकास्पद देखिएपछि उनको परिवारलाई पनि आइसोलेशनमा राख्ने तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । जिल्लामा ८ बेडको आइसोलेशन वार्ड छ । जसमा ४ जना राखिएकोमा सबैको स्वाब संकलन भएको छ ।
तपाईको प्रतिक्रिया