विराटनगर / कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले छिमेकी मुलुक भारत र चीनसँग जोडिएका सबै नाका आज देखि पूर्णरूपमा बन्द गरिएको छ ।
हिजो साँझ प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा मन्त्रिपरिषदले बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेसँगै आज विहानैबाट मोरङको रानीसँगै देशभरका नाकामा कडाई गरिएको छ ।
नागरिक तहबाट सीमानाका बन्द गर्नुपर्ने आवाज उठेपनि सरकारले भारतसँग परामर्श भइहरेको भन्दै त्यसबारे निर्णय गर्न सकेको थिएन । आन्तरिक यातायात बन्द गर्ने निर्णय गरेको सरकारले खुल्ला सीमा बन्द नगर्दा जोखिम बढ्दै गएको थियो ।
भारतमा कोरोनाको कारण ७ जनाको मृत्यु भइसकेको तथा नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र विहारमा पनि कोरोना देखिएकोले सीमा बन्द हुनुपर्ने आवाज उठिरहेको पछि आजदेखि एक साताका लागि सबै नाका बन्द गर्ने निर्णय भएको बताइएको छ ।
नाकाबाट आवत जावतमा रोक लगाए पनि ढुवानी लगायतका सामान आयातमा भने कुनै रोकावट नहुने सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो ।
नाका भएका जिल्लालाई आइतबारनै गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो ।
तपाईको प्रतिक्रिया