विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारले २ करोड रुपैंया उपलब्ध गराउने भएको छ ।
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा १ करोड रुपैया मैदानको स्तरोन्नतीका लागि र थप १ करोड रुपैया पवेलियन निर्माणका लागि उपलब्ध गराउने जानकारी दिए । मन्त्री घिमिरेका अनुसार पहिलोचरणको रकम विराटनगर महानगरपालिका अन्र्तगत खर्च गरिने बताए ।
महानगरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको कम्प्लेक्समा रहेको क्रिकेट मैदानमा ६ वटा टर्फ पिच, मैदानमा माटो भर्ने, साइड स्क्रिन, ३ स्थान पानीको बोरिङ, पानी ट्याङ्कीका लागि १ करोड रुपैया बजेट खर्च हुनेछ ।
पहिलोचरणमा प्रदेश एक सामाजिक मन्त्रालयले विराटनगर महानगरपालिका मातहत १ करोड रुपैया उपलब्ध गराएको छ । यसका लागि क्रिकेटका अम्पायर एवं क्युरेटर शिरीष उपाध्यायको संयोजकत्वमा बैजनाथपुर क्रिकेट रंङ्गशाला निर्माण तथा मर्मत उपभोक्ता समिति गठन भएको छ । संयोजक उपाध्यायका अनुसार असार मसान्तभित्र उल्लेखित कार्य सम्पन्न गर्ने गरि केहीदिनबाटै फिल्डवर्क सुरु हुनेछ ।
मैदानमा निर्माण हुने पिचका लागि उदयपुरबाट रातो माटो, सुनसरीको बर्जुतालबाट कालो माटो र सेतो माटो लगाइने क्युरेटर उपाध्यायले बताए । उनका अनुसार १ करोड रुपैयामा विभिन्न कर कटाएर ८५ लाख रुपैया हुने र बाँकी १५ प्रतिशत रकम समितिले ब्यहोर्नेछ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मैदानको स्तरोन्नतीका लागि सामाजिक विकास मन्त्रालयबाट १ करोड रुपैया उपलब्ध भएको जानकारी दिए । मेयर पराजुलीले भने, ‘मैदान स्तरोन्नतीका लागि क्रिकेटमा लागेका ब्यक्तिहरुकै समूहले उपभोक्ता समिति बनाएका छन् । सोही उपभोक्ता समितिले काम गर्नेछन् ।’
मैदान महानगरपालिका भित्र भएको हुनाले यसको स्तरोन्नतीमा महानगरले विशेष चासोका साथ हेर्ने मेयर पराजुलीले जानकारी दिए ।
त्यसैगरि क्यानका एक पदाधिकारीले विगतमा भएका घटनाबाट पाठ सिक्दै अब नयाँ शिराबाट काम हुने बताँउछन् । उनले भने, हिजो के भयो त्यसमा नगइकन हामी मैदानको स्तरोन्नतीका लागि खटिनेछौ ।
जिल्ला खेलकुद विकास समिति मातहत रहेको मैदान निर्माणका लागि सातौं राष्ट्रिय खेलकुदका क्रममा ६४ लाख रुपैया, त्यसपछि सामाजिक विकास मन्त्रालयबाट दुईपटक २०७४/७५ मा १ करोड ७० लाख रुपैया, र २०७६ मा १ करोड रुपैया खर्चिसकेको छ ।
२०७४/७५ मा क्षेत्रीय खेलकुद विकास समितिले १ करोड ७० लाखमा मैदानको वरिपरि ड्रेन, साईडस्क्रिन, पिच र मैदानमा माटो भर्नका लागि शाह गरिमा जेभी कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । सो समय गुणस्तरहीन कमसल काम भएको जनाउँदै जिल्ला क्रिकेट संघ मोरङको तदर्थ समितिका अध्यक्ष सुनिल पौडेलसहितको टोलीले आपत्ती जनाएको थियो ।
त्यसैगरि, २०७६ सालको स्तरोन्नतीको काममा समेत विवाद आएपछि तत्कालीन बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नती ब्यवस्थापन समितिले १ करोड रुपैया रुपैयामा २६ लाख रुपैया ५७ हजार रुपैया खर्च गरेको थियो । समितिले विवाद उत्पन्न भइसकेपछि बाँकी १६ लाख ४३ हजार रुपैया मन्त्रालयलाई नै फिर्ता गरेको थियो । त्यसैगरि, सो समय ४२ लाख रुपैयामा ३ वटा घाँस काट्ने मेसिन, पिचको घाँस काट्ने १ मेसिन, पिच छोप्नका लागि समान दुई थान जुट र प्लाष्टिकको कभर र पुरै मैदान छोप्नका लागि ३ थान कभर खरिद भएको थियो ।
यस मैदानमा सातौं राष्ट्रिय खेलकुदका क्रममा क्रिकेट प्रतियोगिता, एकपटक ए डिभिजन क्रिकेट प्रतियोगिता आयोजना भएको जिल्ला क्रिकेट संघ मोरङले जनाएको छ । यद्धपी, यसबीच विद्यालयस्तरीय प्रतियोगिता पनि हुदै आएको छ ।
मैदानका लागि सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले रकम खर्च गरेपनि त्यसको मर्मत र उचित रेखदेख हुन नसकेको क्रिकेटका पदाधिकारीहरुको गुनासो छ । उनीहरु भन्छन, ‘न खर्च गर्ने निकायले त्यसको रेखदेख गर्छन् न त परिषद्ले नै । त्यसैलेपनि यसमा पटकपटक रकम खर्च हुदाँ समेत उपलब्धी भने अपेक्षाकृत रुपमा आउन सकेको छैन ।’
तपाईको प्रतिक्रिया