प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठसहित)

९ चैतदेखि हवाई उडान स्थगित
खबर पूर्वाञ्चल, ७ चैत्र २०७६, शुक्रबार १९:१४
फाइल तस्वीर

काठमाण्डौं / विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस फैलिन नदिन नेपाल सरकारले गरेको पूर्वतयारीबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । यस्तै चैत ९ देखि १८ गतेसम्म सबै अन्तराष्ट्रिय हवाई उडान रोक लगाएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ :

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं ।

नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।

दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्य सचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।

दिदिबहिनी तथा दाजुभाईहरु,

महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–

· सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
· भीडभाडबाट टाढै रहनु होस्,
· सकेसम्म घरमै बस्नुहोस्,
· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाईदा उ

ठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि समेत गरिने स्पष्ट पार्दछु, ।

विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।

दिदिबहिनी तथा दाजुभाईहरु,

तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।

· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

· मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।

संसदमा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ÷संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु ।

मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आपूm रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।

म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्ने समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।

तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।

मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।

२०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई हामीले दृढताका साथ सामना ग¥यौं । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५