यही अधिवेशनबाट प्रदेश नाम टुंग्याउने मुख्यमन्त्री राईको भनाई

खबर पूर्वाञ्चल, ५ चैत्र २०७६, बुधबार ०८:१४

विराटनगर / संसदीय दलको सचेतक नियुक्ति र दलको विधान पारित गर्ने निर्णय गर्दै सोमबार बसेको नेकपा संसदीय दलको बैठक सम्पन्न भएको समभार आजको हाम्रोमत दैनिकले छापेको छ ।

बैठकले दुई वर्षपछि संसदीय दलको विधान पारित गरेको छ भने रिक्त रहेको सचेतक पदमा भोजपुरकी प्रदेशसभा सदस्य सौभाग्यवती राईलाई नियुक्त गरेको छ ।

दलको नेताले मनोनित गर्ने विधानको व्यवस्था अनुसार राईले सचेतकमा सौभाग्यवतीलाई नियुक्त गरेको हो । लामो समयपछि बसेको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले सरकारको काम कारवाही र सरकार सञ्चालन पद्दतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा सरकारको काम कारवाहीको विषयमा छलफल गर्न नसक्ने भएकोले १५ दिनभित्र अर्को बैठक बस्ने निर्णय भएको छ ।

अबको बैठकमा सरकारले गरेको कामहरुको सुची र भिजुअलसहित छलफल गर्ने तथा त्यसमा हरेक मन्त्रालयले गरेका कामहरुको विवरण प्रस्तुत गर्ने मुख्यमन्त्री शेरधन राईले बताए । मुख्यमन्त्रीको आश्वासनपछि मंगलबारको बैठकमा सरकारप्रति ठूलो असन्तुष्टि प्रकट भएन । मुख्यमन्त्री राईले भने ‘साढे २ वर्षको मध्यावधि मूल्यांकन गर्ने काम हुन्छ । कहाँबाट काम सुरु ग¥र्यौ, अहिले कहाँ पुगेका छौं र अबको तार्गेट के हो भन्ने विषयमा हामी बसेर मध्यावधि समिक्षा गर्छौ ।’

बैठक अहिलेसम्म सरकारले गरेको बजेट खर्चको अवस्थाको विषयमा पनि छलफल भएको छ । सरकारले बजेट खर्चमा उल्लेखनीय प्रगति गर्न नसकेको भन्दै केही सदस्यहरुले आलोचना गरेका थिए । मुख्यमन्त्री राईले अहिलेसम्म ३० प्रतिशत पूँजीगत खर्च भएको र यो अन्य प्रदेशको तुलनामा बढी नै रहेकोले सन्तोष मान्नुपर्ने जवाफ दिए ।

बैठकमा नेकपाको भूमिका, सदस्यहरुको भूमिका र सरकारको कामको सामान्य समिक्षा गर्ने काम भएको मुख्यमन्त्री राईले बताउए । उनले प्रदेशसभा सदस्यहरुको भूमिकालाई थप सशक्त बनाउने र क्षमता अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

बैठकमा प्रदेशको नामको विषयमा पनि सामान्य छलफल भएको छ । यसअघि राजधानी टुंग्याउने बेलामा नै सबैको मतहरु लिइसकेकोले अब यसै अधिवेशनबाट नाम टुंग्याउने गरी आगामी बैठकमा छलफल गर्ने मुख्यमन्त्री राईले बताए । वृहद् विराट क्षेत्र सम्बन्धी कानून र त्यसको म्याण्डेट अनुसार सरकारले व्यवस्थापिका र कार्यपालिकाको कार्यालय निर्माण सम्वन्धी काम अगाडि बढाउने उनले बताए ।

बैठकमा केही सदस्यहरुले सरकारका मन्त्रीहरुले मात्रै चुनाव जित्नेगरी काम गरेको र योजना र बजेटमा पक्षपात भएको भन्दै असन्तुष्टि जनाएका थिए । मुख्यमन्त्री राईले ५६ वटै निर्वाचन क्षेत्रमा सन्तुलित विकास गर्नुपर्छ भन्ने विषयमा सिंगो नेकपालाई राम्रो हेक्का रहेको बताए ।

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय दलको आगामी बैठक १५ दिनभित्र हुने र कम्तिमा दुई दिन बैठक बसेर सबै विषयमा छलफल गर्ने जानकारी दिए। बैठकमा सरकारको कामबाट नतिजा नदेखिएको, बहुवर्षीय आयोजनाहरुको प्रगति नभएको भन्दै आलोचना पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५