विराटनगर / विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका र ग्रिनल्याण्ड कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताको आज भएको खेलमा विराटनगरको निहारिका कलेजले पथरीको रेडस्टार माविलाई ६–० गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अर्को खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले विराटनगरकै हिमालय दर्शन कलेजलाई ४–१ गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको लिग चरणअन्तर्गत समूह ‘ए’ तर्फका सम्पूर्ण खेल सम्पन्न भएका छन् । लिग चरणमा निहारिका पहिलो र ग्रिनल्याण्डले दोस्रो स्थान बनाउँदै अन्तिम चारमा स्थान सुरक्षित पारेका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा निहारिका शिशिर लेखीको ह्याट्रिक गोल मद्दतले रेडस्टारलाई ६–० को फराकिलो गोलअन्तरमा पराजित गरेको हो । खेलको ११ औं मिनेटमा शिशिर लेखीले गोल गरे । २२ औं मिनेटमा विवेक राईले गोल गरे । ३५ औं मिनेट सुजन शर्माले गोल थपे लगतै शिशिर लेखीले पनि गोल गरे । खेलको ६५ र ६८ औं मिनेटमा पुनः लेखीले गोल गरे । खेलको म्यान अफ द म्याच शिशिर लेखी भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।
त्यस्तै दोस्रो खेलमा ग्रिनल्याण्डका संजय धिमालको ह्याट्रिक गोल मद्दतले हिमाल दर्शनलाई ४–१ गोलअन्तरमा पराजित गरेको हो । खेलको छैटौं मिनेटमा संजय धिमालले गोल गरे भने १६ र २३ औं मिनेटमा पनि धिमाल गोल गरेका थिए । ३६ औं मिनेटमा ग्रिनल्याण्डका सुशान्त लामा गोल थपे । ६३ औं मिनेटमा हिमालयका लागि एकमात्र गोल नारायण खड्काले गरेका थिए । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका संजय धिमाल भए । उनले ३१ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको समूह ‘ए’ तर्फ ग्रिनल्याण्डको ७, निहारिकाको ७, रेडस्टारको ३ अंक रहेको छ भने हिमाल दर्शन कलेजले कुनै अंक जोड्न सकेको छैन । समूह ‘बी’ तर्फ महेन्द्र मेमोरियलको ४, कान्तिपुरको ३, जनप्रियको ३ र कोशी मल्टिपलको १ अंक रहेको छ ।
लिग चरणको अन्तिम खेलअन्तर्गत सोमबारको पहिलो खेल विराटनगरको कोशी मल्टिपल कलेज र रंगेलीको जनप्रिय मावि तथा दोस्रो खेल विराटनगरको कान्तिपुर कलेज र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया