पूर्वाञ्चल खबर
पोखरा / वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
विश्व क्रिकेटका विस्फोटक ब्याट्स्म्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्न लागेका हुन् । पोखराले आज पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउँने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्ने खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्ने छन् ।
क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुनु् । गेल आईसीसीको टेष्ट, एकदिवसीय र टी–ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान समेत हुन् । गेलले वेष्ट इण्डिजबाट १ सय ३ टेष्ट, तीन सय एक एकदिवसीय र ५८ टी–ट्टिवान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन् । वेष्ट इण्डिजले सन् २०१६ को टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी थिए ।
टी–ट्वान्टीमा १३ अर्धशतक दुई शतकसहित कुल १ हजार ६ सय २७ रन बनाएका ४० वर्षका गेलले टेष्टमा ७ हजार दुई सय १५ रन बनाएका छन् । एकदिवसीयमा भने उनले १० हजार चार सय ८० रन बनाएका छन् ।