पूर्वाञ्चल खबर
विराटनगर / मोरङको कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको हत्याको आरोपमा प्रहरीले आफ्नै श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।
परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि ३५ वर्षीया दयावती सरदारले प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारसँग एक सातादेखि नै योजना बनाएर श्रीमानको हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई प्रहरीले आज विराटनगरमा सार्वजनिक गर्दै उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुईजनाले हत्याका लागि एकहप्तासम्म योजना बनाएका थिए । विकासको शव टाउकोमा पछाडि चोट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा ६ माघमा फेला परेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले श्रीमतीको परपुरुषसँगको सम्बन्ध नै विकासको हत्याको मुख्य कारण रहेको अनुसन्धानबाट खुलेको बताए ।
‘दयावती र उनका प्रेमी बद्रीकै सल्लाहमा हत्याको योजना बनाएको पाइयो,’ उनले भने, ‘ पछि स्थानीय ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारले पनि सहयोग गरेका रहेछन् ।’
एसपी अधिकारीका अनुसार तीन जनाले विकासलाई गाउँतिर तास खेल्न जानु पर्छ भन्दै लगे । केही पर एकान्तमा लगेर राति १० बजे फलामको डण्डीले सुरुमा ललनले टाउकोको पछाडि प्रहार गरेको उनको भनाइ छ । पहिलो प्रहारमै विकास ढलेपछि पालैपालो बद्री र मुकेशले पनि प्रहार गरेर गाम्छाले घाँटीमा कस्दै हत्या गरेर पानी जमेको खाल्डोमा लगेर फ्यालिदिएको प्रहरीको भनाइ छ । टाउकोमा हान्न प्रयोग गरिएको डण्डी लुकाएर राखिएको अवस्थामा प्रहरीले जुडी खोलाबाट बरामद गरेको छ । प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेपछि उनले दिएको बयानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार बद्रीसँग दयावतीको दुई वर्षदेखि अवैध प्रेम सम्बन्ध थियो । श्रीमतीको परपुरुषसँगको अवैध सम्बन्ध विकाशले थाहा पाएपछि आफूहरुको सम्बन्धमा बाधक बन्न सक्ने आंकलन गरेर दयावती र बद्रीको योजनामै हत्या भएको उनको भनाइ छ ।