पूर्वाञ्चल खबर
विराटनगर / सिमावर्ती भारतीय बजार जोगबनी छेउमा जिर्ण अवस्थामा रहेको मीरगञ्ज पुल मर्मत गर्न तीनदेखि चार हप्ता लाग्ने भए पछि पूर्वका उद्योगि चिन्तामा रहेका छन् ।
भारतीय पक्षले पुल मर्मत तीनदेखि चार हप्ता लाग्ने जनाएपछि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर पूर्वका उद्योग व्यवसाय धरासायी हुने भन्दै चिन्ता जनाएको हुन् । नेपालको दोश्रो ठूलो नाका र मोरङ–सुनसरी कोरिडोरको एक मात्र प्रवेशद्वारको रुपमा रहेको यो पुल, दुई वर्ष अघि यही अवस्था सिर्जना हुँदा आठ महिनासम्म सुनसरीको भीमनगर नाकाबाट रि–रुट गरी पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले जेनतेन उद्योग व्यावसायलाई जोगाएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।
हामीले पटक पटक विभिन्न निकायहरुमा पहल पैरवी गर्दा समेत कुनै ठोस कदम नचालिएको अध्यक्ष मुन्दडाले गुनासो पोखे । नेपाल सरकारको कुटनितिक पहलकालागि परराष्ट्र मन्त्रालय, भारतीय राजदुतावास–काठमाण्डौँ, नेपाली राजदुतावास दिल्ली, भारतका हाई वे डिभिजनहरु लगायत विभिन्न मन्त्रालयहरुमा पहल गर्दा पनि कुनै ठोस काम नचालेका उनले बताए । मिरगञ्ज पुलको छेउमा बन्दै गरेको आरसीसी पुलको निर्माण कार्य सन २००८ मा शुरु भएतापनि हाल सम्ममा चार वटा पिलर मात्र अर्ध रुपमा मात्र निर्माण भएको उनले बताए ।
पुलबाट मालवाहक सवारी साधनहरुको आवत जावत पूर्ण रुपले ठप्प हुँदा भारततर्फ मात्र पनि करिब ५ हजार सवारी साधनहरु अलपत्र पर्ने स्थिति छ भने हाल २ हजार भन्दा बढी मालवाहक सवारी साधनहरु लामबद्ध रहेका छन् । जसको डिटेन्सन र डेमुरेज चार्ज मात्रै प्रति दिन १ करोड रुपैयाँ र साथै उद्योगको उत्पादकत्व क्षमता विभिन्न अभावले गर्दा घट्न गई अरबौँको नोक्सानी व्यहोर्नु पर्ने अवस्था रहेका अध्यक्ष मुन्दडाले बताए । कच्चा पदार्थको अभावमा उद्योगको उत्पादन कम भएर अर्बौंको नोक्सानी हुने उनको भनाइ छ ।
यो समस्या सामाधानको लागि भारतीय पक्षसँग पहल गर्दा सकारत्मक संकेत नआएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमीरेले बताए । तत्कालिक समाधानकालागि विगतमा झैँ सुनसरीको भीमनगर नाकाबाट आयात निर्यातका मालवाहक साधनहरु रि–रुट गरेर ल्याउने व्यवस्थाकालागि हामीले सम्बन्धित निकायमा पहल गरिरहेका अध्यक्ष घिमिरेले बताए । दिर्घकालिन समाधानकालागि आईसीपी जोगबनी जोड्ने आरसीसी पुलको निर्माण कार्यलाई पनि शिघ्रता दिईनु पर्ने उनीहरुको माग गरेका छन् ।