पूर्वाञ्चल खबर
विराटनगरमा आज आयोजित एक विशेष समारोहका बीच सहकारी संस्थाले ५१ हजार राशिको ‘तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मान’बाट नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्की, ५० हजार राशिको ‘ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ मोरङका पूर्व सचिव अर्जुन आचार्यलाई प्रदान गरिएको छ।
यसैगरी २१ हजार राशिको ‘मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार’ पदम सरदारलाई र १० हजार राशिको राष्ट्रिय समाचार समिति(रासस)की पूर्व समाचारदाता मीना श्रेष्ठद्वारा स्थापित ‘मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ बाट रस्मिता उदासलाई प्रदान गरिएको छ ।
कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले पुरस्कार वितरण गर्दै संघ,प्रदेश र स्थानीय निकायका सरकारले गरेका गलत कार्यको स्वस्थ आलोचना गरी सुधारका लागि पहल गर्नुपर्ने बताए । उनले पत्रकारहरुले समाजमा पछाडि परेका जनताको समस्या उजगार गरी मुलधारमा ल्याउने कार्य गर्न सुझाव दिए।
आर्थिक पत्रकारिता पुरस्कारका दाता दिनबन्धु गोयलले सञ्चारकर्मीले सत्थतथ्यको आधारमा समाजमा समाचार पस्किनुपर्ने सुझाव दिए।
सहकारीका अध्यक्ष दिपक दाहाल,नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, महासंघ मोरङ अध्यक्ष सुशिला पाठक, पुरस्कृत व्यक्तित्व अर्जुन आचार्यलगायतले श्रमजीवी पत्रकारहरुको हक हितका लागि पत्रकारहरुको सबै संगसंगठन एक ढिक्का भएर लाग्ने बताए। सहकारीमा १२२ जना पत्रकारहरु सदस्य रहेका छन् ।