खबर पूर्वाञ्चल
कटहरीका शिवकुमार कामतको समूहले विदेशी सवारी साधनलाई सरसफाइ शुल्क करको नाममा मनलाग्दी रकम असुली गर्ने गरेको फेला परेको हो । कटहरी गपाबाट विदेशी नम्बरका सवारी साधन प्रवेश गरे वापतको सरसफाइ शुल्कको ठेक्का कामतले वार्षिक २१ लाख रुपैयाँमा ठेक्का लिएका हुन् ।
कटहरी गाउँपालिका प्रवेश गरेको विदेश नम्बर प्लेट भएको सवारी साधनलाई सरसफाइ शुल्क १ सय ५० देखि बढीमा २ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर यहाँ ठेक्का लिएका कामतको समूहले सवारी साधन हेरेर ३ सयदेखि ५ सय रुपैयाँसम्म विदेशी सवारी साधनको सरसफाइ शुल्क लिने गरेको नगद रसिद फेला परेको हो ।
उद्योग, कलकारखनाहरु धेरै रहेको कटहरी गपामा दैनिक कच्चा पदार्थ बोकेर भारतीय नम्बर प्लेटका सवारी साधन करिब १ सय वटा प्रवेश गर्ने गरेको अभिलेखमा देखिन्छ । सवारी साधन र मान्छे हेरेर ठेक्दारको प्रतिनिधिले मनपरी शुल्क असुली गर्ने गरेको स्थानिय बताउँछन् । बढी शुल्क असुली गर्ने ठेक्दारका प्रतिनिधिहरुले सवारीको नम्बर र नाम पनि नलेख्ने गरेको पाइएको छ । शुल्क असुली गर्ने ठेकेदारका प्रतिनिधिसँग परिचय पत्र पनि हुने गरेको छैन । सवारी चालकहरुले परिचय पत्र देखाउन अनुरोध गर्दा उनीहरुले उल्टै हप्काउने गरेका छन् ।
कटहरी गाउँपालिकाका प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले आर्थिक वर्षदेखि विदेशी गाडीको हकमा मात्र सरसफाइ शुल्क लिने गरेको बताए । विदेशी गाडीले फोहर बनाउने भएकोले गाउँपालिकाले सरसफाइ शुल्क लिने गरेको उनले सुनाए । ‘गाउँपालिकाले विदेशी नम्बर प्लेटको सवारीको लागि मात्र सरसफाइ शुल्क लिने गरेको हो,’ उनले भने, ‘त्यो पनि गाउँपालिको बोर्ड बैठकले बढीमा २ सय रुपैयाँ मात्र शुल्क लिने निर्धारण गरेको हो ।’
गाउँपालिकाले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको पाइए आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने उनको भनाई छ । यस अघि गाउँपालिकाले पटके कर भनेर लिने गरेको थियो । त्यही पटके करलाई अहिले गाउँपाकिाले सवारी सरसफाइ शुल्क भनेर ठेक्का लगाएको हो ।
कटहरी गाउँपालिकाको प्रमुख रामकुमार कामतले मापदण्ड र तोकिएको भन्दा बढी विदेशी सवारीलाई सरसफाइ कर लिएको पाइए ठेकेदारलाई कारबाहीको दायरमा ल्याउने बताए । ‘हामीले मापदण्ड तोकेर कर निर्धारण गरि ठेक्का लगाएका हौं,’ उनले भने, ‘तोकिएको दर भन्दा बढी लिएको रसिद लिएर कार्यालय आए कारवहीको दायरमा ल्याउँनेछौं ।’
यता विदेशी सवारीको साधनको सरसफाइ शुल्कको ठेक्का लिएका ठेकेदार समूहका प्रतिनिधि सञ्जय मण्डलले काम गर्ने केटाहरुबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘म नभएको बेला काम गर्नेहरूले बढी शुल्क लिएको मैले पनि जानकारी पाए,’ उनले भने, ‘आउने दिनमा यस्तो गल्ती दोहरिने छैन ।’