एक वर्षमा पैसठ्ठी सय नयाँ उद्यमी थपिए

खबर पूर्वाञ्चल, २७ मंसिर २०७६, शुक्रबार ०८:३३

विराटनगर /प्रदेश सरकारले मुख्यमन्त्री युवा स्वरोजगार कार्यक्रम कार्यान्वयनमा लैजाने तयारी गरेको समचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

युवा स्वरोजगार कार्यक्रमकालागि प्रदेश चालु आर्थिक वर्षमा २० करोड रुपियाँ विनियोजन गरेको छ । सो रकम खर्च गर्ने तथा पुनः कोषमै प्राप्ती हुने गरी कार्यविधि तयार गर्ने काम भइरहेको मुख्यमन्त्री शेरधन राईले बताए ।

विराटनगरमा विहीबार युवा तथा साना व्यवसायी स्वरोजगार कोषको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले दश वर्ष भित्रमा प्रदेशमा सबै युवालाई रोजगारी दिनेगरी सरकारले कार्ययोजना तयार पारिरहेको बताएका हुन् । ‘हामी आगामी १० वर्ष भित्रमा सबै युवाहरुलाई रोजगार बनाउने उद्देश्यमा अघि बढेका छौं,’मुख्यमन्त्री राईले भने ‘दश वर्ष पछि हाम्रो प्रदेशका युवाहरु रोजगारी खोज्दै विदेश जानु नपर्ने अवस्था कसरी ल्याउन सकिन्छ भनेर हामी प्रयत्नशिल छौं ।’ उनले मुख्यमन्त्री युवा स्वरोजगार कोषको परिचालन गरेर युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउने र उत्पादन बढाउने तर्फ सरकारले योजना तयार पारिरहेको बताए ।

प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदान लगायत विभिन्न सुविधा मार्फत उत्पादन बढाउने प्रयत्न गरिरहेको पनि मुख्यमन्त्री राईले बताए । प्रदेशमा कृषि, पर्यटन, जनविद्युत, उद्योगलाई प्राथमिकतामा राख्दै लगानीको खोजी गरिरहेको उनले जानकारी दिए । लगानी सम्मेलन मार्फत आवश्यक लगानीसहित नयाँ उद्योगहरु स्थापना हुने उहाँको विश्वास छ ।

संघीय सरकारको युवा तथा खेदकुद मन्त्रालय अन्तरगत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष परिचालनबाट पनि प्रदेशमा उत्पादन वृद्धि भइरहेको कार्यक्रममा बताइएको छ । मुख्यमन्त्री राईले यस्ता कोषहरुसँग प्रदेश सरकारले समन्वय गरेर अघि बढ्ने बताए । उनले संघीय सरकारको लक्ष्य अनुसार कसरी जोडिने र योगदान गर्ने भन्ने विषयमा छलफल हुने बताए ।

विहीबार विराटनगरमा स्वरोजगार कोषको रकम परिचालन गरेर उद्यमशिलता प्रवद्र्धन गरिरहेका प्रदेश १ अन्तरगत १४ जिल्लाकै सहकारीका प्रतिनिधिहरुसँग कोषले कार्यशाला गोष्ठी आयोजना गरेको थियो । प्रदेश सरकारको कार्यक्रमसँग कसरी जोडिएर साझेदारी गर्ने तथा अहिले कोषको उद्देश्य अनुसार कर्जा प्रवाहमा देखिएको चुनौतीहरुको पहिचान गर्न कार्यशाला आयोजना गरिएको हो ।

कोषले प्रदेश १ मा आर्थिक वर्ष २०७५/७६ मा ८१ करोड रुपियाँ युवाहरुलाई बिनाधितो कर्जा प्रवाह गरेको छ । प्रदेशमा क्रियाशिल २ सय ७५ सहकारी संस्था मार्फत युवा तथा साना व्यवसायी कोषले उद्यम गर्न चाहने युवाहरुलाई धितोजमानी बिनानै २ लाख रुपियाँसम्म लगानी गरिदिएको छ । त्यसबाट अहिलेसम्म झण्डै ६ हजार ५ सय नयाँ साना उद्यमीहरु थपिएको कोषका सुनसरी जिल्ला प्रमुख चिरञ्जिवि भट्टराईले जानकारी दिए ।

कोषले १८ देखि ५० वर्ष उमेर समुह भित्रका व्यक्तिहरुलाई स्वरोजगारकालागि कर्जा लगानी गर्दै आएको छ । वार्षिक ११ प्रतिशत व्याजदरमा बिनाधितो कर्जा लगानी गरिरहेको छ । नियमित साँवाब्याज भुक्तानी गर्ने उद्यमीले कोषबाट ६ प्रतिशत ब्याज फिर्ता पाउने व्यवस्था रहेको कुलझोरा फलफुल तथा तरकारी उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष इश्वर बरालले जानकारी दिए । उनले युवा स्वरोजगार कार्यक्रम उत्साहप्रद रहेको भएपनि कतिपय उद्यमीले कर्जा नतिरी फरार भइदिने समस्या देखिएको बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५