पूर्वाञ्चल खबर
विराटनगर /उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सीमा विवादका बारेमा जानकारी दिन भारतसँग नेपाल सरकारले औपचारिक आग्रह गरिसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले अनुरोध पत्र नै पठाएर सरकारले भारतको औपचारिक धारणा माग गरिसकेको जानकारी दिए । ‘हाम्रो ‘पोजिसन’ को बारेमा जानकारी दिएर भारत सरकारलाई तत्काल सीमा विवादमा आफ्नो धारणा सार्वजनिक गर्न भनिसकिएको छ,’ उनले भने, ‘भारतले आफ्नो नक्सामा पारेको लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा नेपाल सरकारले कूटनैतिक र राजनैतिक तवरबाट उच्चस्तरीय पहल गरिरहेको छ ।’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको नेकपा सचिवालय बैठकमा उपस्थित हुन नसकेको कारण बताउँदै नेकपा नेता समेत रहेका पोखरेलले त्यस दिन पार्टी अध्यक्षलाई भनेर नै पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आफू इलाम गएको बताए । ‘म इलाम जाने भए पनि सल्लाह गरेर सहमतिमै सचिवालय बैठक बोलाइएको हो,’ उनले भने, ‘बैठकका विषयलाई लिएर कुनै दुविधा र विवाद छैन ।’
भक्तपुर र धरानमा सम्पन्न उप–निर्वाचनको नतिजाका विषयमा चार दिन भित्र जानकारी दिन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको उनले बताए । ‘उप–निर्वाचनमा भएका घटनाक्रमलाई चार दिन भित्र व्यवस्थित समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको छ,’ पोखरेलले भने, ‘उक्त प्रतिवेदनका विषयमा आगामी सोमबार हुने पार्टीको सचिवालय बैठकमा थप समीक्षा गरेर निर्णय लिइने छ ।’