पूर्वाञ्चल खबर
विराटनगरस्थित पार्टी कार्यालयमा भएको घटनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले बाहिर चर्चा भएजस्तो र भिडियोमा देखिएजस्तो हातपात नभएको दाबी गरेका छन् । भिडियोमा बस्नेत आक्रोशित मुद्रामा अघि बढेको र धकेलाधकेल भएको देखिन्छ, तर उनले त्यसलाई अस्वीकार गरे ।
नेता बस्नेतले भीडभाडमा फर्किने क्रममा खुट्टा अल्झिएर लड्न खोज्दा हातपात गरेजस्तो देखिएको जिकिर गरे । उनले भने, ‘‘भिडियोमा धकेलेको होइन । म यसो फर्किदाखेरी त्यो भीडमा खुट्टा अल्झिएर यसो लडेजस्तो देखिएको हो । कसैले कसैलाई हातपात गर्ने कुरा भएको छैन । सामान्य छलफल मात्र भएको हो । छलफल चाहिँ अलि चर्काचर्की नै भएको हो, तर कुटपिटको तहमा पुगेको छैन ।’’
बस्नेतका अनुसार मतदान प्रक्रियामा नियम विपरीत एकै व्यक्तिले धेरै जनाको भोट हाल्न खोजेपछि विवाद सुरु भएको थियो । आँखा नदेख्ने र अशक्तका नाममा ‘इच्छाइएको व्यक्ति’ भन्दै एकजना कार्यकर्ताले २० औं पटक मतदान गर्न खोजेपछि आफूले रोकेको उनले बताए ।
‘अशक्तका लागि परिवारको सदस्य वा तोकिएको व्यक्तिले भोट हाल्न पाउछ, तर एउटै नेता–कार्यकर्ताले २० पटक भोट हाल्न खोजेपछि मैले यो गलत हो, तपाईँ बाहिर जानुस् भनेर रोकेको हुँ,’ बस्नेतले भने, ‘‘जिम्मेवार मान्छेले नै विधि मिच्न खोजेपछि सम्झाउने क्रममा ठूलो स्वर भएको हो ।’’