खबर पूर्वाञ्चल
प्रदेश अन्तरगत पर्ने १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमिनमा धान खेती गरिएको थियो । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेति गर्न सकिने भएपनि यो वर्ष ३ लाख २० हजार १ सय ३४ हेक्टरमा खेति गरिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
यो वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन भएको अनुमानित विवरण निर्देशनालयले सार्वजनिक गरेको छ । किसानहरुले अझै धान काट्ने र दाउनी गर्न बाँकी रहेकोले अन्तिम विवरण आउन केही समय पर्खनुपर्ने निर्देशनालयका सूचना अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।
निर्देशनालयका अनुसार अघिल्लो वर्षभन्दा ६२ हजार ९ सय २५ मेट्रिक टन कम उत्पादन भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष सोलुखुम्बुमा धान खेति योग्य शतप्रतिशत जमिनमा धान खेति गरिएको थियो ।
सोलुखुम्बुको १ हजार ५ सय २५ हेक्टर खेतबाट ३ हजार ५ सय ६ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै सबैभन्दा धेरै झापामा ८४ हजार ८ सय ७५ हेक्टर जमिनमा गरिएको धानबालीबाट ३ लाख ८१ हजार ९ सय ३७ मेट्रिक टन धान उत्पादन भएको छ । झापामा धानको उत्पादकत्वपनि सबै भन्दा राम्रो छ । झापामा यो वर्ष प्रति हेक्टर ४.५० मेट्रिक टनको दरले धान फलेको निर्देशनालयले जनाएको छ ।
धान उत्पादनमा महत्वपूर्ण योगदान दिने झापा, मोरङ र सुनसरी मध्ये यो वर्ष मोरङ र सुनसरीको उत्पादकत्व प्रतिहेक्टर ४.१० मेट्रिक टन रहेको छ । पहाडी जिल्लाहरुमध्ये धानको उत्पादकत्व धनकुटामा सबैभन्दा राम्रो देखिएको छ । धनकुटामा यो वर्ष प्रतिहेक्टर उत्पाकत्व ३.१२ मेट्रिक टन रहेको छ । खोटाङको उत्पादकत्व सबैभन्दा कम १.७५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । खोटाङको १० हजार ३ सय १८ हेक्टर जमिनमा यो वर्ष धानखेति गरिएको थियो । प्रदेशको धान उत्पादकत्व भने सन्तोषजनक रहेको छ । यो वर्ष औसतमा ३.दशमलव ७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको छ ।
धान खेति योग्य जमिन मध्ये झण्डै २० हजार हेक्टरमा यो वर्ष धान खेति नभएको र आकाशे पानीमा भर पर्नुपर्दा समयमा रोपाई गर्न नसक्दा अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा केही ह्रास आएको कार्यालयले जनाएको छ ।