पूर्वाञ्चल खबर
विराटनगर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अत्याधिक सवारी चाप हुने गरेको बसपार्कदेखि बरगाछीसम्मको कोशी राजमार्गलाई नो पार्किङ जोन कायम गराउने भएको छ ।

प्रदेश राजधानी विराटनगरको सवारी जाम न्यूनीकरण गर्न तीन किलोमिटर क्षेत्रलाई ‘नो पार्किङ जोन’ तोकिने भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरमा ट्राफिक प्रहरी प्रमुखको पदभार समहालेका राकेशकुमार पोद्दारले अत्याधिक सवारी चापका कारण विराटनगरमा राजमार्ग अति व्यस्त बनेको भन्दै राजमार्गका दुवै किनारामा सवारी पार्किङ नगर्न नगरवासीसँग अनुरोध गरेका छन् । मोरङ ट्राफिकको नयाँ प्रमुखका रुपमा प्रहरी निरीक्षक पोद्धार आएका छन् ।
यस अघि प्रमुख रहेका शिव पोखरेलले अवकाश पाएपछि ट्राफिक प्रमुखका रुपमा तेह्रथुम दरबन्दी भएका प्रहरी निरीक्षक पोद्धारलाई प्रहरी प्रधान कार्यालयले मोरङ पठाएको हो ।
कोही कसैले सडकमा पार्किङ गरेर नियमको उल्लंघन गरेमा ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरिने उनको भनाइ छ । जथभावी गरिने अव्यवस्थित पार्किङकै कारण राजमार्ग अस्तव्यस्त बन्ने गरेको र त्यसले धेरै असजिलाहरु एवं अवरोधहरु सिर्जना गरेर सवारी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक पोद्धारले बताए । उनले बरगाछी र कञ्चनबारीमा दुईवटा बस विसौनी बनाउन आवश्यक रहेकाले तत्काल काम थालिने समेत बताए ।
नयाँ प्रमुखका रुपमा कार्यभार सम्हालेसँगै पोद्धारले महत्वकांक्षी कार्ययोजना सार्वजनिक गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विराटनगरलाई सवारी जाममुक्त बनाउने महत्वपूर्ण कार्ययोजना सार्वजनिक गरेर त्यसलाई पहिलो प्राथमिकतमा राखेको जानकारी दिए ।
ट्राफिक व्यवस्थापन चुस्त बनाएर विराटनगरलाई सवारी जाममुक्त बनाइने पोद्धारले बताए । पछिल्लो समय सवारी साधनको चाप बढेसँगै जाम बढेर यहाँको ट्राफिक व्यवस्थापन डामाडोल र भद्रगोल बनेको छ । पोद्धारले महानगर र प्रदेश सरकार समेतका सरोकारवाला निकायसँग समन्वय गर्दै विभिन्न उपाय अवलम्बन गरेर ट्राफिक व्यवस्थापन सम्बन्धीका सबै खाले कामलाई निरन्तरता दिइने पनि बताए ।
‘प्रदेश राजधानी विराटनगरमा सवारी साधनको चापसँगै जाम बढेकाले सवारी साधन तथा मानिसलाई आवतजावतमा असहज भइरहेको र दुर्घटना पनि बढेको पाइयो,’ उनले भने, ‘ त्यही भएर विराटनगरलाई सवारी जाममुक्त बनाएरै छाड्ने अठोटका साथ काम अघि बढाइएको छ ।’
विराटनगरमा ‘वाइपास’ सडक नभएकाले पनि जामको समस्या बेहोर्नु परेको बताउँदै पोद्धारले व्यवस्थित पार्किङ, छाडा चौपाय नियन्त्रण, बढ्दो सिटी सफारी र टेम्पो व्यवस्थापन, फुटपाथका पसलको व्यवस्थापन, ट्राफिक निगरानी, चालक लक्षित जनचेतनामुलक कार्यक्रम, ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही र जथाभावी सवारी साधन रोक्ने प्रवृत्तिको अन्त्य गरेर प्रदेश राजधानीलाई जाममुक्त बनाइने जानकारी दिए ।
पार्किङ स्थल नबनाउने विभिन्न संघ संस्था र अस्पताललाई तत्काल बनाउन सम्बन्धीत निकायमार्फत आग्रह गरिने उनको भनाइ छ । प्रहरी निरीक्षक पोद्धारले ट्राफिकका तर्फबाट पनि पार्किङस्थलको पहिचान र व्यवस्थापन गर्ने काम समेत हुने बताए । ‘लामो तथा छोटो दूरीका सवारी साधनले यात्रुलाई धेरै हैरान दिने गरेको पाइयो । कुनैले छोटो दूरीका यात्रु नउठाउने र यात्रु उठाउनेले पनि बढी भाडा लिने गर्दा रहेछन्,’ उनले भने, ‘त्यसलाई रोक्दै सबै खाले सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने छ । म आफै ‘फिल्ड’ मा खटिएर सबै खाले सवारी साधनको निगरानी गर्ने छु ।’
उनले राजमार्ग तथा भित्री सडकका बीच भागमा रहेका पोलहरु सडक तथा महानगर लगायतका सरोकारवालासँग समन्वय गरेर तत्काल हटाइने र सवारी साधनको प्रदूषण जाँचको व्यवस्था पनि चाँडै गरिने जानकारी दिए । त्यस बाहेक ट्राफिक चेकजाँच, मापसे गर्ने लगायतका नियम उल्लंघन गर्नेलाई कारबाही, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन, जेब्राक्रस निर्माण समेतका नियमित ट्राफिकिङलाई निरन्तरता दिइने पोद्धारको भनाइ छ ।