AArya
RUMPUM
animated ellipse animated ellipse

कार्गो रेलबाट सामान ल्याउने सपना अधुरै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ कार्तिक २०७६, मंगलवार ०७:४५
3
Shares

विराटनगर / भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्ने गरी रेलमार्ग निर्माण भएपनि तत्काल कार्गो रेलबाट सेवा लिन भने नसकिने भएको समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आइसिपि) सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिकरुपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने भएको छ ।

भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन बिस्तार गरिएको थियो । तर, नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहराले बताए । अहिले बनेको यार्डमा थोरै संख्यामा मात्र कन्टेनरहरु राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौंको संख्यामा कन्टेनरहरु ढुवानी गरेर ल्याउँछ । ‘यार्ड साँघुरो हुँदा सबै कन्टेनर राख्न सक्ने अवस्था नरहेसम्म कार्गोबाट सेवा लिन सकिदैन,’ मोरङ ब्यापार संघका पूर्वअध्यक्ष अविनाश बोहराले भने ‘कार्गो रेलबाट सेवा लिनका लागि यार्ड बिस्तार गर्नु अनिवार्य छ ।’

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले रेल्वे कस्टम यार्ड विस्तार गर्नुपर्ने सुझाव भन्सार विभागलाई गराइसकेको बताए । ‘हामीले कार्गो रेल सञ्चालन गर्न यार्डको क्षमता बढाउनुपर्छ भनेर विभागलाई जानकारी गराएका छौं,’ पौडेलले भने ‘तत्काल रेलबाट सामान ढुवानी गर्ने अवस्था छैन ।’ अहिलेको यार्डसँगै जोडिएको पूर्व तर्फको जमिन अधिग्रहण गरेर यार्ड विस्तार गर्न सकिने सम्भावना रहेकोले त्यसको जानकारी पनि विभागलाई गराएको उनले बताए ।

उद्योगी बोहरा सरकारले तत्काल यार्ड विस्तार गर्ने प्रकृया अघि बढाउनुपर्ने बताए । ‘रेलबाट सामान ल्याउँदा ढुवानी खर्चमा धेरै बचत हुन्छ,’ उनले भने ‘रेल सञ्चालनका लागि सबै पूर्वाधार तयार भइसकेको छ, अब पूर्वतर्फको खाली जमिनमा यार्ड बिस्तार गर्नुपर्छ ।’

बुधनगरदेखि कटहरीसम्म रेलवे लाइन विस्तारको काम भइरहेको र कटहरीमा पनि यार्ड बन्ने भएकोले तत्काल बुधनगरमा विस्तार नगर्ने हो कि भन्नेमा सरकार अलमलिएको देखिन्छ । यद्यपी विराटनगर भन्सार कार्यालयले नै बुधनगरको यार्ड विस्तार गर्नुपर्ने सुझाव दिएकोले विभागले सोही अनुसार योजना बनाउने बताइएको छ ।

विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच केन्द्र भन्सार विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । त्यससँगै यात्रु तथा सबै मालबहाक ट्रक सोही मार्ग हुँदै विराटनगर गन्तव्यसम्म पुग्नेछन् । कार्गो रेलबाट सोझै नेपालसम्म सामान ढुवानी गर्ने सपना भने तत्काल पुरा नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर