पूर्वाञ्चल खबर
भोजपुर / चिकित्सक अभाव भएपछि जिल्ला अस्पताल भोजपुरमा प्रसूति सेवा बन्द भएको छ ।
कर्मचारी समायोजनमा प्रसूति गर्ने चिकित्सक सरुवा भएपछि ३ महिनादेखि अस्पतालको सेवा ठप्प छ ।
सेवा बन्द भएपछि गर्भवती महिला सास्ती खेप्दै जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । एक जना पनि प्रसूति चिकित्सक नभएपछि साउन १९ देखि सेवा बन्द भएको अस्पतालले जनाएको छ । प्रसूतिको शल्यक्रिया गर्ने प्रमुख चिकित्सक नै सरुवा हुनाले सेवा पूर्णरूपमा ठप्प भएको हो ।
चिकित्सक नहुँदा सामान्य डेलिभरीका लागि पनि धरान, विराटनगर, काठमाडौं लैजानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । प्रसूतिगृह बन्द भएपछि सामान्य किसिमका गर्भवती महिलालाई कष्टकर यात्रा गरी अन्यत्र लैजानुपर्ने अवस्था छ ।
अस्पतालमा प्रसूतितर्फका स्थायी र करार गरी ८ जना प्रसूति चिकित्सक कार्यरत थिए । कर्मचारी समायोजनपछि सरुवा जानाले पनि चिकित्सक अभाव झेल्नुपरेको अस्पतालले जनाएको छ । दरबन्दीअनुसार पर्याप्त चिकित्सक नहुँदा प्रसूति गर्न आउने गर्भवती महिलालाई बाहिर रेफर गर्नुपरेको चिकित्सक रञ्जना श्रेष्ठले बताइन् ।
प्रदेश १ अन्र्तगत सामाजिक विकास मन्त्रालय, निर्देशनालय, जिल्ला समन्वय समिति र नौवटै स्थानीय तहलाई प्रसूति सेवा सुचारु नहुँदा उत्पन्न समस्याबारे जानकारी गराइएको अस्पतालका निमित्त प्रमुख डा.पवित्रा श्रेष्ठले बताइन् । अस्पतालमा वार्षिक ३ हजार हाराहारीमा महिला सुत्केरी गर्न आउने गरेका थिए ।
घरेलु विधिले प्रसूति गराउँदै आएका गर्भवती महिलाको ज्यान जाने जोखिम कम गर्ने उद्देश्यले हङकङ निवासी भोजपुरवासीको चन्दा संकलनबाट २०६७ सालमा प्रसूति भवन बनाइएको थियो । भवनमा २०७४ फागुनमा पहिलोपटक शल्यक्रियामार्फत प्रसूति गरिएको थियो ।