पूर्वाञ्चल खबर
विराटनगर / नेपालीहरुको दोस्रो महान चाड तिहारको विदाईसँगै विराटनगरमा समेत छठ पर्वको रौनक सुरु भएको छ ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले छठ पुजा हुने विभिन्न घाटहरुको अनुगमन तथा निरीक्षण गरेकाछन् । प्रमुख पराजुलीसँगै वडाका जनप्रतिनिधिहरुले विराटनगरको सिंंघिया खोला, मन्टा पोखरी, पोखरीया घाट, हाटखोला पुललगायतका स्थानहरुमा अनुगमन गरेका हुन् ।
विशेष गरी तराई क्षेत्रमा महत्वपूर्ण रुपमा मनाइने गरीएको उक्त पर्व पछिल्लो समय अन्य समुदायले पनि विशेषरुपमा मनाउन थालेका छन् । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आजको दिनलाई पहिलो दिनको रुपमा मान्यता दिदै आएको हो ।
छठको पहिलो दिनलाई अरवा भन्ने गरिन्छ । पहिलो दिन स्थानिय युवाहरु घर नजिकै रहेका नदि, पोखरी, ताल अदि जलासयमा गई किनार तथा बाटो सफा गर्ने चलन रहिआएको छ । आजबाट विराटनगरमा रहेका सिघिया खोला, मोरङ सुनसरी सिचाई आयोजनाको नहर र स्थानिय पोखरीहरु सफा गर्न थालिएको छ ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन आज नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।
मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ ।