पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले विगतमा भएका जुनसुकै अपराधिक घटनाको पनि छानविन हुने बताए । ‘हत्याहिंसाको जुनसुकै अपराधिक घटनाको छानविन हुनसक्छ,’ रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने । जनयुद्धमा भएका कतिपय घटनाको विषयमा पनि छानविन हुन्छ कि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले भने, ‘जनयुद्धलाई अपराधको रुपमा बुझ्नु हुँदैन ।’ कांग्रेस नेता मो.अफ्ताव आलम पक्राउ गर्नु कुनै प्रतिशोध नभएको स्पष्ट पार्दै उनले अदालतको आदेश कार्यान्वयन भएको स्पष्ट पारे । नेकपा सरकारले प्रतिशोध साँध्न आफ्ना नेता आलमलाई पक्राउ गरेको भन्दै काँग्रेसले विरोध गर्दै आएको छ ।
पोखरेलले पार्टीका दुईजना अध्यक्षबीच कुनै विवाद नभएको पनि दाबी गरे । पार्टीमा बहस हुनु स्वभाविक भएको प्रतिक्रिया दिँदै उनले आलोपालो प्रधानमन्त्री बनाउने सहमतिबारे संस्थागत जानकारी नदिएको बताए । नेकपामा सी विचारधारा लागू भएको छ भन्ने विषय गलत भएको भन्दै उनले चिनिया कम्युनिष्ट पार्टीले लागू गरेको सी विचारधारा के रहेछ भनेर बुझ्ने काम आफ्नो पार्टीले गरेको बताए ।
सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा वर्तमान सरकारले पनि गम्भिर रुपमा लिएको बताउँदै पोखरेलले चिनिया राष्ट्रपति सिले चिनमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा भएका कामको विषयमा आफूहरुलाई जानकारी दिएको बताए । अर्को प्रसंगमा पोखरेलले हिंसा त्यागेर वार्तामा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह समेत गरे ।