AArya
RUMPUM
animated ellipse animated ellipse

सामूहिक बलात्कारबाट पीडित पूजालाई आठ वर्षपछि सर्वोच्चबाट न्याय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७६, शुक्रबार ०८:२४
3
Shares
आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी छिन् । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले विहीबार सुनुवाई गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको हो । फौजदारी नयाँ संहिता आएसँगै दोषी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो कानुनअनुसार दण्ड सजाय निर्धारण गर्नका लागि अर्को पेशी तोकिने छ । अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्को पेशी तोकेर सजाय निर्धारण गर्नेछ ।

बलात्कारपछि न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको उनको मुद्दामा २२ फागुनमा २०६९ मा तत्कालीन जिल्ला अदालत बैतडीका न्यायाधीश हिमालयराज पाठकले दुवै अभियुक्तलाई १३ वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएका थिए । जिल्ला अदालतको सो फैसलापछि पीडक दुबै जना पुनरावेदन अदालत गएका थिए । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै पीडक दुवैलाई सफाइ दिएपछि पीडित पूजाले सो फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् ।

पुनरावेदन अदालत महेन्द्रनगरले सफाइ दिएपछि यो मुद्दा निक्कै विवादित बन्न पुगेको थियो । काठमाडौंमा अकुपाइ बालुवाटार लगायतका मुभमेन्टमा समेत यो घटनाले प्राथमिकता पाएको थियो । यस्तो फैसला दिने न्यायाधीश शाही हालै एक अर्कै प्रकरणमा बर्खास्तीमा परेका छन् ।

पूजाको मुद्दामा २२ फागुनमा २०६९ मा पीडकलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरीमानाको फैसला सुनाइयो । ७ चैत २०६८ सालमा एसएलसी परीक्षाका लागि गणितको गेसपेपेर किन्न पाटन बजारमा पुगेकी पूजालाई सामूहिक बलात्कार गरिएको थियो । पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा उनी परीक्षा दिन बैतडीको कैलापाल गाउँबाट आएकी थिइन् । उनी बलात्कारमा परेपछि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा अस्पताल भर्ना भएपछि सो घटना बाहिर आएको थियो ।

तत्कालीन अवस्थामा बोहोरालाई बलात्कारपछि कसैले पनि नदेख्ने गरी फालिएको थियो । पुस्तक किन्न भनेर हिँडेकी उनी बेलुकासम्म नफर्केपछि आफन्तले खोज्न जाँदा रगताम्य भई घ्यारघ्यार गरी नालीमा लडिरहेको अवस्थामा भेटेका थिए । उनलाई त्यहाँबाट उपचारका लागि अस्पताल लगिएको थियो । सो घटनाको विषयमा सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

सो घटनापछि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी एक लाख रुपैयाँ औषधोपचार खर्च पनि दिएको थियो । प्रहरीले अनुसन्धान गर्दै जिल्ला अदालत बैतडीमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतले दोषी ठहर गरे पनि पीडक दुबै जनालाई पुनरावेदन अदालतले सफाई दिएपछि उनको घाउ थप बल्झिएको थियो । उनले राष्ट्रिय पत्रिका मार्फत तत्कालीन कानुनमन्त्री नरहरी आचार्यलाई मेरो जिवन निमोठ्ने निर्दोष हुन् ? भन्दै खुलापत्र लेखिन् । उनको खुलापत्रले सामाजिक बहस सुरु भएको थियो ।

२ पुस ०७१ म दर्ता भएको मुद्धा सर्वोच्चले पाँच वर्षपछि फैसला गरेको हो । पूजाले फैसलाविरुद्ध पुनरावेदन गरेपछि सर्वोच्च अदालतमा चार प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्रको कार्यकालमा उनको मुद्दाले प्राथमिकता पाउन सकेको थिएन । लामो समयसम्म मुद्दाको पालो पर्खन पर्दा पीडित बन्नु परेको उनले बताएकी थिइन् । राजधानी दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर