पूर्वाञ्चल खबर
प्रदेशको कृषि निर्देशनालय विराटनगरले दिएको तथ्यांक अनुसार पछिल्लो पटक झापाको भद्रपुरमा अमेरिकन फौजी किरा भेटिएको थियो । हालसम्म अमेरिकन फौजी किराले प्रदेश १ का ८ जिल्लाको १० हजार ६ सय ७८ घरधुरी किसानको २ हजार ७ सय १० हेक्टर क्षेत्रफलको मकैबाली सखाप पारेको निर्देशनालयले जनाएको छ । हाल धानमा भने यो किरा देखा नपरेको र यो सिजनमा नियन्त्रणमा आएको निर्देशनालयको बालि संरक्षण अधिकृत सरस्वती श्रेष्ठले जानकारी दिइन् ।
यो किराको प्रकोप सबैभन्दा बढी पाँचथरमा देखिएको छ । पाँचथरको तेम्बेवा, कुमायक, फाल्गुनन्द, मिक्लाजुङ, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा मात्रै ३ हजार ६ सय ३२ घरधुरी किसानको १ हजार ३ सय ४५ हेक्टर क्षेत्रको मकैबाली नष्ट भएको छ ।
यस्तै ओखलढुंगाको मानेभन्ज्याङ, सुनकोशी, चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाको २ हजार १ सय ८० घरधुरी किसानको ५ सय हेक्टर, भोजपुरको भोजपुर नगरपालिका, हतुवागढी, अरुण, पौवादुम्बा, आमचोक र रामप्रसाद राई गाउँपालिकाका ८ सय ५ घरधूरी किसानको २ सय ८९ हेक्टर, उदयपुरको त्रियुगा, कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकाको १ सय २९ घरधूरी किसानको २२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बाली नष्ट भएको छ ।
फौजी किराले खोटाङको हलेशी तुवाचुङ नगरपालिका, रावावेशी, खोटेहाङ र दिप्रुङचुइचुम्का गाउँपालिकाको ६ सय ६० घरधुरीको २ सय २२ हेक्टर, धनकुटाको धनकुटा, पाख्रीबास, महालक्ष्मी नगरपालिका, चौबिसे, साँगुरीगढी, छथर जोरपाटी र सहिदभूमि गाउँपालिकाको गरी १ हजार ७ सय घरधूरीको १ सय ८१ हेक्टर, तेह्रथुमको म्याङलुङ नगरपालिका, फेदाप, आठराई, लालिगुराँस र छथर गाउँपालिकाका १ हजार ५ सय ७० घरधूरी किसानको १ सय ४८ हेक्टर र झापाको भद्रपुर नगरपालिकाको २ वटा घरधुरीको ३ हेक्टर क्षेत्रफलमा लगाएको मकै बाली अमेरिकन फौजि किराले नष्ट गरेको तथ्यांक छ ।
बाली जोगाउने चिन्ता
अमेरिका हुँदै भारतसम्म आइपुगेका अमेरिकन फौजि किरा नेपालमा भने वैशाख २७ गते फेला परेको थियो । यो किराको लार्भाले विभिन्न ८० प्रकारका बालीनालीमा क्षति पु¥याउने गरेको विज्ञहरुको भनाइ छ । मकै मन पराउने यो किराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पु¥याउने गरेको छ ।
अब तराई–मधेशमा लगाइने मकै बालि कसरी जोगाउने भन्ने चिन्ताले प्रदेश कृषि निर्देशनालयलाई सताएको छ । ‘यो पटक त लगभग नियन्त्रणमा आइसक्यो,’ र्देशनालयकी बालि संरक्षण अधिकृत श्रेष्ठको भनाइ छ, ‘अब तराईमा लगाइने मकै बालिमा यो किरा आएर सखाप पार्ने हो कि भन्ने हामीलाई पनि चिन्ता छ ।’ यसका लागि किसानले एउटै समयमा बाली लगाउनुपर्ने, जैविक तथा रासायनीक विषादी तयारी अवस्थामा राख्नुपर्ने उनले बताइन् ।
किसान आफैं सचेत हुँदा पनि यसको नियन्त्रणमा धेरै सघाउ पुग्ने बताउँदै श्रेष्ठले मकै उमे्रदेखि नियमित अनुगमन गर्नुपर्ने, मकैको घोगामा नोक्सान गर्ने भएकोले खोस्टाले पुरा घोगा छोपिने जातको मकै लगाउन सुझाव दिनुभयो । यस्तै सकेसम्म मिश्रीत बाली लगाउने, डेस्मोडियम घाँस (एक किसिमको गन्ध आउने विरुवा) मकै बालीको बीचबीचमा लगाउने, नेपियर घाँसलगाएर त्यस बालिमा विषादी प्रयोग गरेर किरा मार्ने, नीमजन्य विषादी एजाडिराक्टिन पानीमा मिसाएर छर्न निर्देशनालयको किसानलाई सुझाव छ ।
अमेरिकन फौजि किराको इतिहास
अमेरिकापछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन् २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो किरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ । यसले गर्दा सन् २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको बताइएको छ । यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ ।
सन् २०१८ मा भारतको कर्नाटका राज्यमा सो किरा भेटिएको थियो । तत्पश्चात यो किरा बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाईल्याण्ड तथा चीनमा समेत फेला परिसकेको छ । यसका लागि नेपालमा उक्त किराको जीवनी, आनिबानी तथा व्यवस्थापनका विभिन्न पक्षहरुको बृहत अध्ययन अनुसन्धानसमेत गर्नेुपर्ने देखिएको छ ।
अमेरिकन फौजी किराको वयस्क पुतली १ दिनमा १ सय किलोमिटरसम्म पनि उडेर जान सक्ने विज्ञहरु बताउँछन् । यसको आयु २ महिना छ ।
स्थानीय फौजी किराको पनि आतंक
निर्देशनालयल दिएको तथ्यांक अनुसार स्थानीय जातको फौजी किराले झापा, सुनसरी, मोरङ र उदयपुरको ५ सय १३ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको छ । तथ्यांक अनुसार फौजी किराले झापाको भद्रपुर, हल्दीबारी, झापा नगरपालिका, गौरादह, शिवसतासी, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा, बारहदशी, कमल र कन्काईलगायतका स्थानीय तहका ४ सय २२ घरधूरी किसानको २ सय ८३ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका र बराह नगरपालिकाको ६५ घरधूरी किसानको ७७ हेक्टर, मोरङको सुनवर्षी नगरपालिकाको १२ हेक्टर र उदयपुरको चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाको गरी १ सय ४१ हेक्टर क्षेत्रफलको धानबाली नष्ट गरेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । स्थानीय फौजी किरा भने अमेरिकन फौजी किरा भन्दा कम क्षति गर्ने प्रजातिको किरा हो । यद्यपि यसको नियन्त्रण पनि चुनौति बन्दै गएको निर्देशनालयले जनाएको छ ।