AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ कारागरामा अराजकता मच्चाउने १९ कैदीबन्दीलाई अन्यत्रै स्थानान्तरण गरिँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०८३, शुक्रबार १७:३३
90
Shares
विराटनगर / जिल्ला कारागार मोरङको ‘बी’ ब्लकभित्र लामो समयदेखि अराजक मच्याउँदै आएका एउटा समूहलाई अन्य कैदीबन्दीले नै विद्रोह गरी बाहिर निकालेका छन् ।

कारागारभित्र आतंक सिर्जना गर्ने, कैदीबन्दीलाई यातना दिने र प्रशासनलाई समेत चुनौती दिने १९ जनाको समूहलाई आज सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याएको हो ।

आज अपराह्न कारागारभित्रै कैदीबन्दीका दुई समूहबीच हिंसात्मक झडप भएपछि सुरक्षा स्थिति असामान्य बनेको थियो । लामो समयदेखि पीडित बनेका कैदीबन्दीहरूले ‘दादागिरी’ गर्ने समूहमाथि आक्रमण गरेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको हो ।

स्थानान्तरणको तयारी गरिएकाहरूमा ‘बी’ ब्लकका चौकीदार विशाल निरौलासहित मुख्य योजनाकार मानिएका भारतीय नागरिक चन्चल बर्मा छन् । बर्मा मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्षको कैद सजाय भुक्तान गरिरहेका उनी २०७० मंसिरमा पक्राउ परेका थिए । उनको कैद अवधि २०८५ सम्म रहेको प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसार ‘बी’ ब्लकमा उनको प्रभाव रहेको र च्यानल गेटको सञ्चालनसमेत उनको समूहको नियन्त्रणमा रहने गरेको दाबी छ ।

त्यस्तै, स्थानान्तरणको सूचीमा प्रेम कटवाल, मनिषकुमार विक, रबिन कामत, राजेश कामत, धर्मेन्द्र राई, तापत पासवान, कार्तिक कामत र कुनाल सिंह रहेका छन् । प्रहरी नियन्त्रणमा रहेका अन्यमा मो. सदाम, अजय पासवान, प्रशान्त भण्डारी, रामकुमार श्रेष्ठ, अनिल भट्टराई, अरवाज शेख, रामकुमार चौधरी, अजय मेहता र नजामुदिन मिया छन् । यी सबैलाई अहिले कडा सुरक्षाका बीच जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयमा राखिएको छ ।

कारागार प्रशासनका अनुसार ५ सय ६५ जना कैदीबन्दी रहेको ‘बी’ ब्लकमा चन्चल बर्माको समूहले आफूखुसी नियम चलाउँदै आएको थियो । मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्षको कैद सजाय काटिरहेका भारतीय नागरिक बर्माले कारागारको ‘च्यानल गेट’ समेत आफ्नै नियन्त्रणमा राखेका थिए । उनी २०७० सालदेखि जेलमा छन् ।
बर्मालाई जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मनिष विश्वकर्मा, लागूऔषध मुद्दाका कुनाल सिंह र खुन–डाँका मुद्दाका कार्तिक कामतले समूह बनाएर साथ दिँदै आएका थिए । यो समूहले १०–१२ जनाको अर्को ‘कोटरी’ बनाएर सामान्य कैदीबन्दीलाई मानसिक तथा शारीरिक यातना दिने, उनीहरूको भागको सरकारी भत्ता र आम्दानी रकम कब्जा गर्ने तथा प्रशासनका विरुद्ध गतिविधि गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।
“कारागारभित्र पनि आफ्नै कानुन चलाउन खोज्ने र अन्य कैदीबन्दीको अधिकार खोस्ने यो समूहका कारण कारागार प्रशासन सधैँ दबाबमा थियो,” एक सुरक्षा अधिकारीले भने, “उनीहरूले भित्रैबाट जेलर र प्रशासनलाई पनि असहयोग गर्दै आएका थिए ।”

लामो समयदेखि चन्चल बर्मा र चौकीदार विशाल निरौलाको समूहबाट प्रताडित अन्य कैदीबन्दीले शुक्रबार धैर्यको बाँध टुटेपछि विद्रोह गरेका थिए । प्रशासनले यसअघि नै उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्न खोजे पनि कैदीबन्दीकै बलमा उनीहरूले भित्रबाट ताला लगाएर प्रशासनलाई छिर्न दिएका थिएनन् । तर, आज स्थिति उल्टियो । पीडित पक्षले नै अराजकता मच्चाउने समूहलाई एक–एक गर्दै कुटपिट गरी सुरक्षाकर्मीको जिम्मा लगाएका थिए ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटुवालले कारागारभित्रको अराजकता अब स्वीकार्य नहुने स्पष्ट पारेका छन् । “कारागारको ‘बी’ ब्लकमा कैदीबन्दीहरू आपसमा झगडा गर्न थालेपछि थप अप्रिय घटना हुन नदिन हामीले हस्तक्षेप गरेका हौँ,” एसपी कटुवालले भने, “अहिले १९ जनालाई नियन्त्रणमा लिएर जिल्लामा ल्याएका छौँ । कारागारभित्र दुई समूहका कारण लामो समयदेखि अशान्ति थियो । यस्ता अराजक तत्वलाई अब मोरङमा राखिने छैन, उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको छ ।”

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै ती १९ जनालाई अब मोरङ कारागारमा पुनः नफर्काउने निर्णय भएको जानकारी दिए । “अहिले उनीहरू प्रहरीको हिरासतमा छन्,” कोइरालाले भने, “जेलर आएपछि छलफल गरेर उनीहरूलाई देशका कुन–कुन कारागारमा पठाउने भन्ने अन्तिम निर्णय गरी आजै वा भोलिसम्ममा पठाइसक्नेछौँ ।”
यसअघि पनि यो समूहलाई स्थानान्तरण गर्ने प्रयास असफल भएको थियो । तर, शुक्रबारको आन्तरिक विद्रोहले प्रशासनलाई सहज बनाएको छ । १९ जनालाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको अवस्था पूर्णतः शान्त रहेको छ । पीडित कैदीबन्दीहरूले आफूहरूले अब ढुक्कसँग बस्न पाउने भन्दै प्रशासनको कदमको स्वागत गरेका छन् । कारागारभित्रको सुरक्षा व्यवस्था अहिले थप मजबुत पारिएको छ भने अन्य बन्दीहरूको दैनिकी सामान्य बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर