पूर्वाञ्चल खबर
काठमाण्डौ / विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका प्रहरी हिरासतमा रहेका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।
आज न्यायाधीश चाणकमणि अर्यालको इजलासले ५ दिन थुनमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २५ गते रौतहटस्थित आफताब निवासबाटै पक्राउ गरेको थियो । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी केहीको घटनास्थलमै मृत्यु भएको थियो ।
विष्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै आफताबलाई सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् । हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत लागेको छ ।
थुनछेक बहसका लागि जिल्ला अदालत पुगेका आलमले आफूलाई षडयन्त्र गरी फसाएको आरोप लगाए । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द गरिएको थियो । महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुुसन्धान सुरु गरेको छ ।