पूर्वाञ्चल खबर
काठमाण्र्डौ / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । महरा गएको असोज १९ गते संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका हुन् ।
अदालत खुलेसँगै प्रहरीले आज महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । शाहीले आफूमाथि बलत्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो । त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै आज उपस्थित गराइएको हो ।
महराले असोज १२ गते रोशनीमाथि बलत्कार गरेको भन्दै असोज १४ गते खुलासा भएको थियो । खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।