पूर्वाञ्चल खबर
विराटनगर / प्रमुख प्रतिपक्षी दल काँग्रेसको विरोधका कारण आज प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध गरेपछि संसद वैठक स्थगित भएको छ ।
आज प्रदेशसभाको ५० औं बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयका सम्वन्धमा व्यवस्था गर्न बनेको विधयेकको दफावार छलफलपछि सामाजिक विकास समितिले पारित गरेको प्रतिवेदन पेश गर्ने कार्यसूचि थियो । उक्त विधयेक फर्ता गरिनुपर्ने माग राख्दै काँग्रेसले प्रदेशसभा अवरोध गरेपछि संसद वैठक स्थगित भएको हो ।
सभामुख प्रदिपकुमार भण्डारीले बैठक आरम्भ गर्नासाथ प्रतिपक्ष बेञ्चका प्रदेशसभा सदस्यहरु उठेका थिए । निर्धारित समयभन्दा १ घण्टा ३७ मिनेट ढिलो गरेर सुरु भएको बैठकमा आफ्नो स्थानबाट सांसदहरु उठेर विरोध जनाएपछि सभामुख भण्डारीले प्रमुख सचेतकलाई भनाई राख्ने समय दिका थिए ।
नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग बनाएजसरी र जनवादी शिक्षा पढाउने स्कूल खोलेजसरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रयास भएको बताए । उनले विधेयकलाई साझा बनाउनुको साटो सरकारले जबरजस्ती गरेकोले बैठक अघि बढ्न नदिने स्पष्ट पारे । प्रमुख सचेतक कार्कीले मनमोहन अधिकारी लोकतान्त्रिक आन्दोलनका उच्च कदका नेता भएपनि सरकारले उहाको ओज र कद घटाउने प्रयास गरेको भन्दै आपत्ती जनाए ।