पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा आज बुढानिलकण्ठ से.बो.स्कूलले ‘नासो’ नाटक मञ्चन गरेको छ ।

स्कूलले महोत्सवको सातौँ दिन हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा साहित्यकार गुरुप्रसाद मैनालीको कथा नासोमा आधारित नाटक मञ्चन गरेको हो ।
आरोहण–गुरुकुल विराटनगरकी पूर्व विद्यार्थी तथा सोहि विद्यालयकी नाटक शिक्षक अस्मिना भट्ट कर्णले निर्देशन गरेको नाटक मञ्चन गरिएको हो । नाटकमा सोही विद्यालयमा अध्ययनरत विप्लव प्रधान, पुजा राउत, दुर्गा प्रसाई, ग्रीष्मा पोखरेल र सुज्यान कर्णले अभिनय गरेका थिए ।
नाटकले ठेट नेपाली संस्कार मान्ने एउटा परिवारको बहुविवाहका कारण उत्पन्न समस्याहरुलाई समेटेको थियो । एकजना पुरुषले पहिलो विवाहबाट सन्तान नभएपछि दोस्रो विवाह गरेपछिको उ र उसको परिवारको कथालाई नाटकमा निर्देशक कर्णले कलात्मक ढंगले प्रस्तुत गरेकी थिइन ।