पूर्वाञ्चल खबर
विराटनगर / प्रदेशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विराटनगरको एभरेष्ट सेकेण्डरी स्कूलले राष्ट्रिय शिक्षा दिवसको अवसरमा बृक्षारोपण गरेको छ ।
आज विद्यालयको नव निर्मित भवन परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको हो । प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रमले पर्यावरण जोगाउन सानै भएपनि सहयोग पुग्ने विश्वास ब्यक्त गरियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री घिमिरेसहित उपस्थित सवैले परिसरमा बृक्षारोपण गरेका छन् । बृक्षारोपणपछि कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले बृक्षारोपणले पर्यावरणीय समस्यालाई न्यूनिकरण गर्न थोरै भएपनि योगदान पुर्याउने बताए । उनले उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुँदै आए एभरेष्ट उच्च मावि प्रदेश सरकारले छनौट गरेका उत्कृष्ट विद्यालयको सूचिमा परेकोमा बधाई दिए ।
प्रदेश १ का सोलु र ताप्लेजुङ बाहेकका सवै जिल्ला साक्षर जिल्ला भएको र बाँकी दुई जिल्लालाई पनि तीन महिनाभित्रै साक्षर बनाउने तयारीमा सरकार रहेको मन्त्री घिमीरेले बताए । यद्यपी उनले साक्षरताको परिभाषा भने बदल्न आवश्यक रहेको बताए । ‘अबको सन्दर्भमा साक्षरतालाई प्रदेश सरकारले अलग ढंगले बुझ्न बुझाउन चाहेको छ ।’ उनले भने,‘ अब डिजिटल लिट्रेसी नभएको व्यक्तिलाई निरक्षर सरह मान्नुपर्ने अवस्था छ ।’ यसकालागि प्रदेशभर डिजिटल लिट्रेसीको अभियान सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय भएको उनले बताए । यो अभियानलाई सार्थक बनाउन सरकारले मात्र गरेर सम्भव छैन, यसलाई सार्थक बनाउन प्रदेशबासीकै सहयोग आवश्यक छ’ मन्त्री घिमिरेले भने ‘अझ शिषक र विद्यार्थी वहाक हुन आवश्यक छ ।’
कार्यक्रममा विद्यालयमा भएको विज्ञान प्रदर्शनीका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत समेत गरिएको छ ।