पूर्वाञ्चल खबर
विराटनगर / तौल कम देखाएर धान खरिद गर्ने व्यापारीहरूले ठगि गर्ने गरेको मोरङको रङ्गेली नगरपालिकाका कृषकहरूले आरोप लगाएका छन् ।
रंगेलिका धान ब्यापारीले कृषकबाट खरिद गरेको धानमा तौल कम देखाएर ठगी गर्ने गरेको आरोप लगाएका हुन् ।
रङ्गेली नगरपालिका– ५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान विक्री गर्दा स्थानिय धानको खरिद विक्री गर्ने व्यापारी नन्दलाल मण्डलबाट ठगिएको आरोप लगाए । रङ्गेलीका कृषकहरूले विराटनगरमा आज पत्रकार सम्मेलन गरि ‘काटा’(गल्ला) धानको कारोबार गर्ने व्यापारीहरूले तौलमा ठगी गर्ने गरेको बताएका हुन् । २ विघा १४ कठ्ठा क्षेत्रफलमा धान खेती गर्दै आएका सुरेन्द्रले यस वर्षको धान राम्रो उत्पादन हुने अपेक्षा रोखका थिए । ‘अपेक्षा राखे अनुसार धान पनि राम्रै उत्पादन भयो,’ उनले भने, ‘खेती लगाउँदो ऋण लागेको थियो । ऋण तिर्न उत्पादन भएको बाली विक्री गर्नुपर्दछ ।’ मण्डललाई चैत धान लगाउन करिब ५० हजार ऋण लागेको थियो । उनले ऋण र्तिन र परिवार पाल्न उत्पादन भएको धान स्थानिय व्यापारी नन्दलालाई प्रतिमन ६ सय ३० रुपैयाँले चिउरा बनाउने बजरङगी धान ३ सय ४० मन विक्री गरेको बताए ।
पसलमा राखेको तौल गरिने मेसिनमा ब्यापारीले ठगी गरिरहेकोले धर्मकाँटामा तौल गर्ने सर्तमा विक्री गरेका थिए । उनले घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरंगी प्रजातिको करिब ४० केजी तौल भएको ३ सय १४ बोरा धान तौलै नगरी बोरामा भरेर ब्यापारीलाई दिएको सुनाए ।
‘आगनमा ३ सय १४ वटा बोरामा भरेको धान ना ३ ख ५२५९ नम्म्बरको ट्रकमा ब्यापारी नन्दलाले लोड गरेर गएका थिए,’ उनले भने, ‘दुबै पक्षको उपस्थितिमा भोली बिहान धर्मकाँटामा धान तौल गर्ने सर्त गरेर नन्दलालले ट्रक लिएर जानु भयो ।’ तर भोली पल्ट ब्यापारी नन्दलालले धर्मकाँटामा तौल गरेको बील लिएर आएको उनले सुनाए । ‘मैले ३ सय ४० मन जति धान हुने अनुमान गरेको तर नन्दलालले ३ सय १४ मन मात्रै तौल आएको बताउनु भयो,’ उनले भने, ‘धर्मकाँटाको बीलमा आफुले अनुमान गरे अनुसारै तौल उल्लेख छ तर नन्दलालले २१ मन ३० केजी धान बाटोमा पनि ट्रकमा लोड गरेको भनेर ठग्न खोज्दै छ ।’ २१ मन ३० केजी तौल कम देखाएर धानको पैसाँ हिनामिना गरेकोे उनले बताए ।
यता धान खरिद गर्ने व्यापारी नन्दलाल मण्डलले आफुले खरिद गरेको धानमा कुनै पनि किसानलाई नठगेको दाबी गरे । विक्री गर्ने कृषकको सामुने धानको तौल नाप्ने गरेको भएपनि विभिन्न प्रकारको आरोप लगाएर आफुलाई बदनाम बनाउन खोजेको उनको भनाई थियो ।