पूर्वाञ्चल खबर
विराटनगर/ केही दिन आएको बाढीका कारण विस्थापित भएर घरफर्केका पीडितहरू पुनः आएको बाढीका कारण फेरि विस्थापित भएका छन् । विराटनगर महानगरपालिका १२ का ६० घर मुसहर परिवार पुनः विस्थापित भएका हुन् ।

आज बिहान परेको वर्षाका कारण केशलीया खोला विराटनगर महानगरपालिका ६ को रामपुरबाट बाँध फुटाएर गाउँ पसेको छ । खोला गाउँपस्दा वडा नम्बर ६ र १२ तथा वडा नम्बर १६ डुवानमा परेको छ । ति वडाका सिम्राही, दरैया र बखसी पश्चिमको क्षेत्र डुवानमा परेको स्थानिय बताएका छन् । विराटनगर १२ का स्थानिय मनोज ऋषिदेवका अनुसार बिहान ८ बजे खोला बाँध फुटाएर गाउँ पसेपछि मुसहर बस्तीका मुसहर पुनः विस्थापित बनेका हुन् । यसअघि असार २४ गतेदेखि एक सातासम्म आएको अविरल वर्षाका कारण विराटनगर १२ बखरीस्थित मुसहर बस्तीका १ सय २५ घरपरिवार विस्थापित भएका थिए । त्यसबेला एक सातासम्म उनीहरू नजिकैको बखरी प्राथमिक स्कूलमा बस्न बाध्य भएका थिए ।
पानी सुकेर घर फर्किएको केही दिनै शुक्रबार पुनः केसलीया खोलाको पानी बस्तीमा पसेपछि यहाँका ६० घरपरिवार विद्यालयको शरणमा पुगेको स्थानीय जितेन्द्र ऋषिदेवले बताए । ६ दिन विद्यालयमा बस्दा महानगरपालिकाका केहि जनप्रतिनिधिहरु र अन्य विभिन्न संघसंस्था आएर चिउरा, भुजा, चामल, दाल र केही अन्य राहत सामग्री दिए पनि आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको पीडित राजकुमार कामतले बताए ।
केसलीयाको बाढी बस्तीमा पस्दा मुसहर बस्तीका ६० घर र वडा नम्बर ६ को ब्रम्हपुरा बस्तीका १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गएरातीको भारी बर्षापछि आएको बाढीले मोरङका खोला किनारका बस्ती जोखिममा छन् भने केही ठाउँमा पानी पसेको हो । उत्तरी क्षेत्रमा पानी पर्दा त्यसको असर दक्षिणका खोला किनारका बस्तीहरुमा देखिँदै आएको छ ।
त्यस्तै, बक्राहा खोलामा आएको बाढीका कारण सुनवर्सी नगरपालिका ५ मा ५५ घर डुबानमा परेको छ । लोहन्द्रा खोलामा आएको बाढीका कारण कटहरी गाउँपालिका–४ का एक सय ५० घर र जहदा गाउँपालिका ४ का देवानन्द साहको घरसमेत लोहन्द्रा खोलाले बगाएको मोरङ प्रहरीका डिएसपी राजकुमार खिउजुले जानकारी दिए।