पूर्वाञ्चल खबर
बिर्तामोड / युवतीलाई प्रयोग गरेर ब्यापारीसँग ४० लाख रुपैयाँ मागेको आरोपमा चार जना पक्राउ परेका छन् ।
विर्तामोडका एकजना ब्यवसायीलाई बन्धक बनाएर रकम असुल गर्न खोज्ने एक युवतीसहित चारजनालाई विर्तामोड प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने वर्ष २९ को मेराज खान, इलाम फाकफोकथुम गाउँपालिका–१ घर भई बिर्तामोड–२ चारपाने बस्ने २० वर्षीया ऋतु फियाक लिम्बु, भारत दार्जि्लिङ थाना खोरिबारी घर भएका २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र झापा बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दास छन्।
असार अन्तिम साता विर्तामोडमा नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट फोन आयो । दुबैबीच परिचय भयो । मीठो स्वर भएका कारण उनी फोन गर्ने युवतीबाट प्रभावित भए । व्यवसायीले पनि त्यसपछि लगातार युवतीलाई फोन गर्न थाले । उनीहरुको इमो, भाइबरमा उनीहरुको माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाले । साउन १ गते युवतीले आफु बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै ब्यवसायीलाई फोन गरिन् । हेर्दा जवान, सुन्दर युवतीले भेट्न बोलाएपछि ब्यवसायी उनले बताएको स्थानमा गए । भेट भयो । फोनमा उनीहरुबीच अश्लिल कुराकानी भइसकेको थियो । ढिलो नगरी ती ब्यवसायीले युवतीलाई होटल जाने प्रस्ताव गरे । असुरक्षा हुने भन्दै युवतीले ब्यवसायीको होटल जाने भन्ने कुरा मानिनन् । उनले भद्रपुर रोडमै साथीको कोठा भएको हुनाले त्यसतर्फ जाने प्रस्ताव राखिन् । ब्यवसायीले पनि त्यो प्रस्ताव उपयुक्त ठाने र कोठा जान राजी भए ।
उनीहरु कोठामा पुग्दा कोही पनि थिएनन् । बेलुका ८ बजे उनीहरु ढोकामा चुक्कुल लगाएर बसेका थिए । यत्तिकैमा ढोका ढक–ढक ग¥यो । ढोका खोल्दा हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले । छुरा र प्लाष्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो । नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये मिराज खान भन्ने युवाले बाहिर लगेर छोड्छन् । त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले उनको नाङ्गो फोटो र भिडियो तयार गरेका हुन्छन् ।
त्यसपछि व्यवसायीसँग ५० लाख रुपैंयाँ वार्गेनिङ हुन्छ । अन्तिममा साउन ५ गते ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरिन्छ । यति गर्दा रातको १० बजेको हुन्छ । रकम जम्मा हुदै गरे नगरेको बारेमा लगातार उनीहरुले ताकेता गर्छन् । पैसा नदिए ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका हुन्छन् । त्यसपछि व्यवसायीले इलाका प्रहरी कार्यालयमा गएर घटनाको बारेमा विस्तृत कुरा बताउँछन् ।
प्रहरीले पीडितलाई जाहेरी दरखास्त दिन लगायो । र भित्रभित्रै अपहरणकारीको खोजी शुरु ग¥यो । पीडितसँग फोन आएका मोवाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट विर्तामोड नगरपालिका ४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दाजिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई पक्राउ गर्न सफल भयो ।
त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई विर्तामोड नगरपालिका २ चारपाने बस्ने रितु फियाक लिम्बूलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको बताएको छ ।
प्रहरीले उनीहरुबाट बा.१५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, प्लाष्टिकको नक्कली पेस्तोल, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको औषधी बरामद गरेको छ ।
पक्राउ परेकामाथि शरीर बन्धक बनाइ अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी मोहन थापाले बताए ।
पक्राउ परेका मध्ये सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा २ जना महिलालाई जबरजस्ती यौन धन्दामा लगाएकोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएर फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।