पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश नम्बर १ मा स्थापना भएको प्रदेश स्तरीय कृषि उद्यम केन्द्र आजदेखि सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले आज कृषि केन्द्रको उद्घाटन गरेकी हुन् ।
केन्द्रको उद्घाटन गर्दै अध्यक्ष राणाले कृषि तथा कृषिजन्य वस्तुहरुसंग आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापन लगायतको क्षेत्रमा प्रदेश १ का उद्योगी व्यवसायीहरुलाई सहज हुने बताइन् । सरकारले ल्याएको कर नीति तथा भेइकल एण्ड कन्साइनमेन्ट ट्रेकिंग प्रणालीको विषयमा छलफल भइरहेको उनले जानकारी दिइन् । ‘सम्बन्धित निकायमा यस विषयमा छलफल भइरहेको छ । आशा छ केहीदिनमा यसको समाधान हुनेछ,’ अध्यक्ष राणाले भनिन् ।
अध्यक्ष राणाले देश संघीयतामा आएपछि सातै प्रदेशमा स्थापना गर्ने योजना अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ पहिलो भएकोमा खुशी व्यक्त गरिन् ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खडकाले कृषि क्षेत्रमा व्यवसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यसबाट परनिर्भरताको अवस्थालाई आयात प्रतिस्पथापनका माध्यमबाट विस्तारै कम गर्दै लैजाने बताउँदै ग्रामिण पर्यटन र कृषि व्यवसायलाई संगसंगै अघि बढाई स्थानीय स्तरमै आय आर्जन र रोजगारी सृजना गर्ने सकिने बताए ।
मौलिक पहिचान भएका स्थानीय वस्तुको उत्पादन, प्रशोधन र बजार प्रवद्र्धन गर्ने आदि उद्देश्यले केन्द्रको स्थापना भएको भन्दै उनले आगामी दिनमा प्रदेश १ सरकारसंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश स्तरीय कृषि उद्यम केन्द्रले यस प्रदेशमा रहेका सवै उद्योग वाणिज्य संघहरुसंग समन्वय गरी काम गर्ने बताउंदै कृषिको प्रचुर संभावना रहेको यो प्रदेशमा कृषि व्यवसायका क्षेत्रहरु पहिचान गरी त्यसको विकासमा सघाउ पुर्याउने लक्ष्य रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को कृषि उद्यम केन्द्रको सभापतिमा नरेन्द्रकुमार खडका र सदस्यहरु राजेन्द्र राउत तथा लिलम बस्नेत छन् ।
यस केन्द्रका लागि गतवर्ष माघमा मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणा,बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।