पूर्वाञ्चल खबर
विराटनगर / पाँच दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढीपहिरोमा परी अझै ४ जना बेपत्ता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहाडी जिल्लामा पहिरो र तराईमा बाढीका कारण मृत्यु हुनेको संख्या ९ पुगेको हो ।
मृत्यु हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका ७ का ६६ वर्षीया जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका ९ का १४ वर्षीय जनक बि.क., ओखलढुंङगा २७ गते चिसुङखुगडी गाउँपालिका ४ की ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली १ की ५० वर्षीया अञ्चला लावतीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ ।
खोटाङको खोटेहाङ गााउँपालिका २ मा आमासँगै बेपत्ता उनका दुई छोरा पनि मृत अवस्थामा फेला परेका छन् । २८ वर्षिया रेखा राई र उनका ४ वर्षिय छोरा रमन राई र ६ महिना छोरा रोहन राईको पहिरोले पुरिएर मृत्यु भएको हो ।
त्यस्तै झापाकोे दमक १० स्थित ६ वर्षीया एलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ । उदयपुर घर भई सुनसरीको इटहरी ५ बस्ने ३५ वर्षीय सागर थापाको पनि खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथर २७ गते मिक्लाजुङ गाउँपालिका ४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर–९ का ४५ वर्षीय सफल हाज्दा, सुनसरी २६ बराहाक्षेत्र १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी गाउँपालिका २ मा अन्दाजी वर्ष २५÷३० को नामथर नखुलेको खोलाले बगाएर बेपत्ता भएका छन् ।