खबर पूर्वाञ्चल
आफू प्रत्यक्ष संलग्न भएर गरेका अनियमितता एवं कर्तुतलाई ढाकछोप गर्ने क्रममा आफ्नो विरोध तथा आलोचना गर्नेहरुलाई विभिन्न लाञ्छना लगाउने गरिरहेका हन् । पछिल्लो समय विशेष गरेर मन्त्री कार्की पत्रकारविरुद्ध खनिने गरेका छन् । उनले गरेका बदमासी समाचारका रूपमा सार्वजनिक हुन थालेपछि पत्रकारप्रति क्रुद्ध बने गरेका छन् ।
आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारलाई बलात्कारी भनिदिनेदेखि लिएर प्रहरीसँग ‘सेटिङ’ मिलाउने गरेको गम्भीर आरोप सार्वजनिक रूपमै लगाइरहेका छन् । तर पत्रकारसँग सम्वद्ध सङ्घ सङ्गठन भने मौन छन् । मन्त्रीले गम्भीर आरोप लगाएर समग्र पत्रकारिता क्षेत्रको बदनाम गरिरहँदा पेशागत हकहितका लागि लड्नुपर्ने पत्रकार महासङ्घ लगायतका संस्था मौन रहनु र विरोधसमेत नगर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा गत भदौ २ गते बिहीबार आयोजित ‘प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’को प्रमुख अतिथि थिए मन्त्री कार्की । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका उच्च प्रहरी अधिकारी, सरकारी वकिल, सुरक्षा अधिकारी, प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, अपराध अनुसन्धान गर्ने इकाईका प्रहरी अधिकृतलगायत उपस्थित गोष्ठीको उद्घाटन कार्कीले नै गरेका हुन् ।
तर गोष्ठीलाई सम्बोधन गर्ने क्रममा कार्कीले कतिपय प्रहरी र पत्रकार तथा राजनीतिक पार्टीमा पनि ‘सेटिङ’ हुने गरेको विवादित अभिव्यक्ति दिए । तस्करी गरिरहेको भनेर एक जना प्रहरी निरीक्षकका बारेमा शृङ्खलावद्ध रुपमा धेरै लेखहरू लेखेको र पत्रकारले नै ‘बार्गेनिङ’ गरेको आरोप उनले लगाए । ‘सेटिङ’ नगरेका कारण पत्रकारले पेल्ने र भ्रमित कुरा लेख्नसक्ने आक्षेपसमेत लगाउन भ्याए ।
पत्रकारलाई ‘सेटिङ’को आक्षेप लगाउने उनी भने अपराधी छाड्न प्रहरीलाई दबाब दिने गरेको आरोपबाट मुक्त छैनन् । एक प्रहरी अधिकारी तस्करीका सामान पक्राउ गर्दा पनि छाडिदिन दबाब दिने गरेको बताउँछन् । ‘अपराधमा संलग्नलाई अनुसन्धानको दायरामा ल्याउँदा मन्त्री आफैँले छाड्न दबाब दिन्छन् । तस्करीका सामान पक्राउ गर्यो भने छाडिदिनु भन्छन्,’ ती प्रहरी अधिकारीले भने, ‘मन्त्रीले आफ्नो हैसियत र पदीय मर्यादा बिर्सिएर देखाइरहेको हर्कतले हामी नै अचम्ममा परिरहेका छौँ । अपराध अनुसन्धानलाई नै प्रभावित पार्ने गरी सरकारका मन्त्री अग्रसर भइरहेका छन् ।’
कार्कीबाट अपराधमा जोडिएकालाई सिधै छाडिदिनु भन्ने निर्देशन आउने गरेको बताउँदै उनले भने, ‘अपराधमा संलग्नसँग मन्त्रीको सम्बन्ध जोडिनुुलाई सामान्य मान्न सकिँदैन । केही न केही स्वार्थ जोडिएकै कारण अनआवश्यक दबाब दिने गरेको हाम्रो बुझाइ छ । विभागीय मन्त्रीले हस्तक्षेप गरिदिँदा प्रभावकारी अनुसन्धानमा गाह्रो हुन्छ । अन्तिममा राम्रो काम गरेन भनेर दोष चैँ प्रहरीले खेप्नुपर्छ ।’
कारबाही नगरिकन छाड्न दबाब दिएको अवस्थालाई अध्ययन गर्दा अपराधीसँग चैँ मन्त्री कार्कीको ‘सेटिङ’ चल्ने गरेको प्रष्ट हुने प्रहरी स्रोतले बतायो । कार्की पत्रकारलगायत आफ्नो आलोचना गर्नेविरुद्ध पटक–पटक विवादित अभिव्यक्ति दिँदै हिँडिरहेका छन् । कर्तुत लुकाउन सार्वजनिक रूपमै विभिन्न लाञ्छना र आरोप लगाउँछन् ।
विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन सुकुम्वासी बस्तीका लागि आर्थिक वर्ष २०७८–०७९ को अन्त्यमा ७० लाख रूपैयाँ विनियोजन गराउँदै काम नै नगरिकन रकम खर्च भइसकेको कागजात तयार पार्न महानगरपालिकालाई दबाब दिएको कुरा बाहिरिएपछि उनको भूमिका शङ्कास्पद देखिएको हो । यो विषयको समाचार सार्वजनिक भएपछि विवादित बनेका उनले आफ्नाविरुद्ध समाचार लेख्ने पत्रकारलाई बालात्कारी भनिदिनेसम्मको विवादास्पद अभिव्यक्ति दिए ।
सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमाथि संसद विकास कोषको बजेट खन्याएर बस्ती नै डुबानमा पार्ने गरी सेल्फी पुल निर्माण अघि बढाएपछि मन्त्री कार्की अर्काे विवादमा फसेका थिए । उनको चौतर्फी आलोचना भयो । विराटनगर महानगरपालिका–६ झरना चोकस्थित नहरमाथि १० लाख ६९ हजार एक सय ९१ रूपैयाँ लागत अनुमानको पुलको शीलान्यास आफैँले गरेका थिए ।
३० प्रतिशतजति मात्रै काम सकेर निर्माण सम्पन्न भइसकेको भनेर पूरै भुक्तानी लिने प्रयास गरिएपछि उनको संलग्नतामा हुने अनियमितता छरपष्ट बनेको थियो । सस्तो लोकप्रियताका लागि आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरी कार्यकर्ता र आसेपासेलाई पोस्न मन्त्री कार्कीले ल्याएको पुलको योजना अहिले अलपत्र परेको छ । बिना अनुमति नियमविपरीत नहरमाथि बनाउन खोजिएको पुल सुनसरी–मोरङ सिँचाई आयोजनाले भत्काउने तयारी गरिरहेको छ ।
मन्त्री कार्कीमाथि मन्त्रालयमा आसेपासे र कार्यकर्ता भर्ति गरिरहेको आरोप छ । आफू प्रतिपक्षमा हुँदा मन्त्रालयलाई सरकारले राजनीतिक भर्ति केन्द्र बनायो भनेर उनले पटक–पटक संसदमा विरोध गरेका थिए । तर अहिले आफैँले नेतृत्व गरेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई भर्ति केन्द्रका रूपमा अगाडि बढाएका छन् ।
विभिन्न अनियमितता र विवादमा मुछिँदा तथा विवादास्पद अभिव्यक्ति दिँदै हिँड्दासमेत कार्कीका बारेमा राजनीतिक हिसाबमा प्रश्न उठाइएको छैन । राजनीतिको असल संस्कार एवं परिधिभित्र राख्ने प्रयास गरिएन । सरकार एवं प्रतिपक्षी दल नेकपा (एमाले)बाट समेत उनको विवादास्पद भूमिकामा मौनता साँधिएको छ ।
उनी सम्वद्ध दल नेपाली काङ्ग्रेस कार्कीको ताण्डव देखेर पनि नदेखेजस्तो गरिरहेको छ । अनुशासनभित्र राख्ने प्रयास नहुँदा मनोबल बढेर मन्त्री कार्कीले मनपरी गरिरहेको काङ्ग्रेसका एक सांसद बताउँछन् । उनको गलत हर्कतले पार्टी र सरकारकै बदनाम भइरहेको उनको भनाइ छ ।
‘सरकार एवं संसदमा पनि उनको गलत भूमिकाका बारेमा प्रश्न उठ्दैन । प्रतिपक्षी मौन रहनु पनि रहस्यमय छ,’ ती सांसद भन्छन्, ‘काङ्ग्रेस त झन रमिता हेरेर बसिरहेको छ । गलत हर्कत देखाउँदा र विभिन्न विवादमा मुछिँदा सबै मौन बसेकाले पनि मनोबल बढ्नु स्वभाविक हो ।’ यस्ता क्रियाकलापले पार्टीलाई समेत ठूलो क्षति पुर्याउने उनको विश्लेषण छ ।
नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्र पी अधिकारी कार्कीका कारण मन्त्री पदको गरिमा घट्दै गइरहेको बताउँछन् । जथाभावी अभिव्यक्ति दिँदै विवादित भूमिका देखाउने गरे पनि संसदमा सबै मौन हुनुले दल तथा मन्त्रीमा असल राजनीतिक संस्कारको विकास हुन नसकेको उनको भनाइ छ । यस्ता गलत हर्कतले पदको गरिमा घट्दै जाने र सर्वसाधारणमा राजनीतिप्रति वितृष्णा बढाउने अधिकारीको बुझाइ छ ।
‘पछिल्लो समय मन्त्री कार्की हैसियत बिर्सिएर पदीय मर्यादाविपरीतका गतिविधि गरिरहेका छन्,’ उनले भने, ‘आफ्ना कर्तुत सार्वजनिक हुन थालेपछि आलोचना सहन नसकेर पत्रकारविरुद्ध जथाभावी अभिव्यक्ति दिँदै हिँडिरहेको पाइन्छ ।’ राजनीति गर्ने व्यक्तिले आफूले गरेको गल्ती र कमजोरीलाई स्वीकार्न सक्नुपर्ने भए पनि आलोचना गर्नेविरुद्ध खनिएर कार्कीले अराजनीतिक व्यवहार प्रस्तुत गरिरहेको अधिकारी बताउँछन् ।
‘आफू गल्ती गर्ने, अनि अरुलाई लाञ्छना लगाउने गर्न पाइँदैन,’ उनले भने, ‘गल्ती ढाकछोप गर्न अरुलाई दोष दिनु खोज्नु राजनैतिक बेइमानी हो ।’ अनियमितताका कारण निर्वाचन क्षेत्रमा आफ्नो व्यापक आलोचना हुन थालेपछि मन्त्री कार्कीले पत्रकारविरुद्ध अनेक हिसाबले प्रहार गरिरहेको अधिकारी बताउँछन् ।
कार्की यसअघिको प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । आगामी निर्वाचनमा पनि टिकट हत्याउन दौडधूप गरिरहेका छन् । तर पार्टी सभापति शेरबहादुर देउवा उनीप्रति सकारात्मक नरहेको स्रोतले बतायो ।
नेता र मन्त्रीकै गलत भूमिका एवं व्यवहारका कारण जनतामा सङ्घीयताप्रति वितृष्णा बढेको राजनीतिक विश्लेषक शान्तिराम भण्डारीले बताए । उनीहरुकै शैलीले सङ्घीयता कागजमा कि व्यवहार र सोचमा आयो भन्ने प्रश्न खडा भएको उनको भनाइ छ ।
‘मन्त्री पदीय मर्यादा बिर्सिएर अभिव्यक्ति दिन्छन् । आफूलाई राजा हुँ भन्ने सोच्छन् । आफ्ना हातमा शक्ति आएपछि अरुलाई चिन्दैनन् । हिजो आफूले विरोध गरेको बाटो हिँड्छन् । म नै अन्तिम सत्य हुँ भन्ने प्रवृत्ति देखाउँछन्,’ भण्डारीले भने, ‘यस्तो गलत व्यवहारले सङ्घीयतालाई असफल बनाउँदै छ । तलसम्म अधिकारको बाँडफाँट हुँदा सङ्घीय व्यवस्था मुलुकका लागि राम्रो भए पनि राजनीतिको गलत संस्कारले व्यवस्था नै धरापमा पर्दैछ । नेता र मन्त्रीमा ‘माफिया डन’ प्रवृत्ति हाबी भयो । उनीहरु जनताप्रति उत्तरदायी भएनन् ।’
उनले नेता र मन्त्रीमा अरु पनि समान हुन् भन्ने सोचको विकास आवश्यक रहेको बताए । अर्काे कुरा मन्त्री भइसकेको मान्छेलाई संसद विकास कोषको बजेट कहाँ लगेर खर्च गर्ने भन्ने कुन पनि थाहा हुनुपर्ने भण्डारीको भनाइ छ ।
‘सुविधा पुग्न नसकेको वर्गलाई लक्षित गरेर कोषको रकम खर्च गर्नुपर्ने हो । यहाँ त कार्यकर्ता र आसेपासे रिझाउने काम हुन्छ । लक्षित वर्गको वास्तै छैन,’ उनले भने, ‘आफ्नो ‘भोट बैङ्क’ कसरी सुरक्षित बनाउने चिन्ता मात्रै छ । एउटा झुन्ड तयार पारेर हिँड्दा साँचो कुरा पनि दबाउन सकिन्छ भन्ने सोच पालिएको छ । यहाँभन्दा नालायिकी अरु हुनै सक्दैन ।’ यस्तै पात्रको लज्जास्पद र गलत व्यवहारका कारण व्यवस्था नै धरापमा पर्दा मुलुक सङ्कटतर्फ उन्मुख भइरहेको राजनीतिक विश्लेषक भण्डारीले बताए । कोशी अनलाइनबाट