पूर्वाञ्चल खबर
पाख्रिवास / लैगिंक समावेशिता र महिला पत्रकारहरुको पेशागत सुरक्षाको माग गर्दै प्रदेश १ को पत्रकार महिला भेला सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश समितिको आयोजना भएको सो भेला ९ बुँदे पाख्रिवास घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि लगायत प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून सच्याउन माग गरेको छ ।
भेलाले महिला पत्रकारहरुको क्षतमा अभिबृद्धिका लागि स्थानीय,प्रदेश र संघीय सरकारलाई बजेटको निश्चित प्रतिशत रकम छुट्याउन माग गर्दै समान सहभागीताको सुनिश्चितता, पेशागत सुरक्षा र श्रमजीवी ऐन कार्यान्वनयका लागि जोड दिएको छ ।
भेलाले पत्रकार महिलाहरुको नेतृत्वमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमलाई विशेष सुविधा उपलब्ध गराई ब्यवसायिक बनाउन जोडदार माग गरेको पत्रकार महासंघले जारी गरेको घोषणा पत्रमा उल्लेख छ ।
यस्तै नेपाल पत्रकार महासंघका सवै संरचनामा हाल कायम समावेशी कोटा यथावत राख्दै मुख्य पदहरु अध्यक्ष, महासचिव वा सचिवमध्ये एक पद महिलाका लागि सुनिश्चित गर्दै कार्यसमितिमा ३३ प्रतिशत सहभागिता अनिवार्य गर्न समेत माग गरिएको छ ।
घोषणा पत्रमा सञ्चार संस्थाभित्र मुख्य गरी पत्रकार महिलामाथि लिङ्गकै आधारमा हुने शारीरिक वा मानसिक हिंसा तत्काल अन्त्य गर्न आग्रह गरिएको छ । महिलाहरुलाई सुत्केरी लगायतका परिस्थिती जन्य विदा विदा दिन माग गरिएको छ ।
कार्यक्रममा प्रदेशका अग्रज पत्रकार महिला ललिता भट्टराई, गंगा बराल पौडेल र इन्दु पूर्वेलीलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै संघीय संसदकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले पछाडी पारिएका महिलाहरुका अधिकारलाई स्थापित गर्नकालागि यस्ता भेलाहरु फलदायी बताइन् । उनले राज्यका हरेक निकायमा महिलाको दरिलो उपस्थिति हुनु पर्ने चर्चा गर्दै महिलालाई अगाडी बढाउनकालागि सबैको सहयोग जरुरी रहेको बताइन् ।
कार्यक्रममा सुचना आयोगकी आयुक्त यसोदा तिम्सिना, नेपाल पत्रकार महासंघका सचिव विपुल पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेल, महिला पत्रकारहरु रेणु पराजुली, गंगा पौडेल लगायतकाले बोलेका थिए ।