पूर्वाञ्चल खबर
विराटनगर / ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा पाहुना टिम जापानले उत्कृष्ट प्रदर्शन गर्दै दुई पटकको विश्व विजेता उरुग्वेलाई बराबरीमा रोकेको छ ।
कोपा अमेरिका फुटबलको समूह ‘सी’ काो आज विहान भएको खेलमा जापानले उरुग्वेलाई २–२ गोलको बराबरीमा रोकेको हो । जापानका लागि दुवै गोल कोजी मियोशीले गरेका हुन् भने उरुग्वेका लागि लुइस स्वारेज र जोसे गिमेन्जेले गोल गरे ।
२५ औँ मिनेटमा कोजीको गोलबाट जापानले सुरुवाति अग्रता लियो । ३२ औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले उरुग्वेका लागि बराबरी गोल गरे ।५९ औँ मिनेटमा कोजीले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः जापानलाई अग्रता दिलाए । तर ६६ औँ मिनेटमा जोसेले उरुग्वेका लागि बराबरी गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
पहिलो खेलमा इक्वेडरमाथि ४–० को जित निकालेको उरुग्वे दोस्रो खेलमा बराबरी गरेपछि चार अंकसहित समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा चिलीसँग ४–० ले पराजित भएको जापान दोस्रो खेलमा बराबरी गरेर एक अंक जोड्न सफल भएको छ ।