पूर्वाञ्चल खबर
काठमाण्डौं / सिल्क ग्रुपका प्रिन्स दाहाल र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१७ को उपाधी हात पारेका छन् ।
प्रिन्सले ब्वाईजको फाईनलमा एपिएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले जित हात पार्दै उपाधी उचालेका हुन् । यस्तै सेनाकी रशिलाले गल्र्स तर्फ मोरङ्गकी सिमा राजबंशीलाई २१–१४, २१–१५ ले पराजित गरिन् । प्रतियोगितामा ब्वाईज तर्फ एपिएफका प्रियांशु सिंह क्षेत्री र दिवस शंकरले तेश्रो स्थानमा चित्त बुझाए । गल्र्स तर्फ मोरङ्गकी निता लम्साल र सेनाकी रञ्जना भट्ट तेश्रो भए ।
हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले उपाधी उचाले । गत बर्षका बिजेता धामी र श्रेष्ठको जोडीले आफ्नै क्लबका बिजित थापा मगर र शोभा गौचनको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् ।
सेमिफाईलनमा दिपेश र पुजाको जोडीले आफ्नौ क्लका गौतम सिंह कठायत र सुनैना मुखियाको जोडीलाई २१–१२, २१–१६ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यस्तै बिजीत र शोभाको जोडीले सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडीलाई २२–२०, २१–१७ ले हराए ।
यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा ग्यालेक्सि ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडी बिजयी भए । पुष्प र राजुको जोडीले एपिएफका भरत कुमार श्रेष्ठ र सुरेश बमको जोडीलाई २१–१९ र २१–७ ले पराजित गरे । धादिङ्गका रमेश भट्टचन र बिष्णुलाल श्रेष्ठ तथा एपिएफका चुडामणी उपाध्याय र जंगबहादुर चन्दको जोडी संयुक्त रुपमा तेश्रो भए ।
४५ बर्ष माथिको प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले बाजी मारे । पराजुली र श्रेष्ठको जोडीले जेष्टकै मुन्ना के.सी. र प्रेम घलेको जोडीलाई २१–१३, २१–१४ ले पाखा लगाउँदै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा मंण्डलाको हरि खत्री र लोकेश्वर बखती तथा धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधानको जोडी रहे ।
३५ बर्ष माथिको प्रतिस्पर्धामा एपिएफ क्लबका प्रेम कुमार श्रेष्ठ र चेत सिंह थापाको जोडीले उपाधी उचाले । श्रेष्ठ र थापाको जोडीले अफ्नै क्लबका राजु गौतम र लोक बहादुर थापाको जोडीलाई २१–८, २१–१२ को सहज जित निकाल्दै जित हात पारेका हुन् । एपिएफका कुश बुढाथोकी र धिरेन्द्र चन्द तथा जिवेश कुमार पाण्डे र गणेश बहादुर मल्ल संयुक्त तेश्रो भए ।
प्रतियोगिताको पुरुष एकल तर्फ एपिएफका दिपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालका विच उपाधीका लागि भिडन्त पक्का भएको छ । दिपेशले सेनाका प्रफुल महर्जनलाई २१–१२, २१–१५ ले तथा प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१९, २१–११ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।
यस्तै महिला एकल तर्फ एपिएफकी जेशिका गुरुङ्ग र सेनाका रशिला महर्जन फाईनल प्रवेश गरे । जेशिकाले सेनाकी अमिता गिरीलाई २१–१३, २१–११ ले तथा रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१५, २१–१२ ले पाखा लगाउँदै उपाधी भिडन्त पक्का गरेका हुन् ।
पुरुष युगल तर्फ पनि एपिएफका दिपेश धामी उपाधी निकट पुगेका छन् । उनले बिजित थापा मगर संग मिलेर पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै फाईनलमा सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी संघको भेट पक्का गरे । महर्जनज जोडीले एपिएफका सुदीप सेढाई र साजन कृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१९ ले पाखा लगाए ।
कुल ७ लाख १० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा छात्र तथा छात्रा तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २५, १५ र ५ हजार प्राप्त गरे । मिश्रीत युगल तर्फ बिजयी प्रथम, द्वितीय र तृतीय हुने जोडीहरुले नगद ४० हजार, २५ हजार र १० हजार प्राप्त गरे
यस्तै मास्टर ३५ बर्ष माथि, भेट्रान्स ४५ बर्ष माथि तथा ५५ बर्ष माथिको युगल खेलमा शिर्ष तीनले १० हजार, ८ हजार र ६ हजार नगद प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण महत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।