पूर्वाञ्चल खबर
विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्ट, वरिष्ट न्यूरो सर्जन डाक्टर यमबहादुर रोका , वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंहलगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो । त्यसका साथै प्रभातफेरिमा न्यूरो हेल्थ कलेजका विद्यार्थीले समेत सहभागीता जनाएका थिए । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरि तुलशा मदर एण्ड चाइल्ड हस्पिटल हुँदै न्यूरो अस्पतालमा समापन भएको थियो ।
सो अवसरमा छारे रोगप्रति व्याप्त भ्रम तथा अन्धविश्वास विरुद्ध कलेजस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरियो भने छारे रोगबारे निःशुल्क परामर्श सेवासमेत दिइएको थियो । उक्त निबन्ध प्रतियोगितामा अर्निको कलेजकी अग्रीमा साप्कोटा प्रथम , नेपाल बिजनेस कलेजकी इलिना थापा दोस्रो र नेपाल विजनेस कलेजकै साहाजेब हक तृत्य भएका थिए । विजेताहरुलाई न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्रकुमार विष्टले प्रथमलाई ५ हजार ,दोस्रोलाई ३ हजार र तृत्यलाई २ हजार नगदसहित अन्य पुरुस्कारहरुले पूरुस्कृत गरे ।
यस्तै छारे रोग दिवसको अवसरमा विभिन्न जाँचमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधी प्रदान गरिएको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । त्यस अवसरमा ४९ जना छारे रोगका बिरामीले स्वास्थ्य लाभ लिएका थिए । छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिामीहरु सही उपचार नपाएर गाउँघरमा अलमलिने गरेको बताइन्छ । नेपालमा करिव १ लाख ५० हजार बढी छारे रोगका बिरामी रहेको तथ्यांक छ ।