CLASSICTECH NET

तत्काल सरकार छाड्ने पक्षमा छैनौ : उपप्रधानमन्त्री यादव

खबर पूर्वाञ्चल, ३ चैत्र २०७५, आईतवार २०:४८

विराटनगर / संघीय सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर आज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए ।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल संघीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए । उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको बताए ।

उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको हो, त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आङ्तक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने बताए ।

उपप्रधानमन्त्री यादवले सिके राउतले सरकारसामु आत्मसमर्पण गरेको आशय व्यक्त गरेका छन् । उपप्रधानमन्त्री यादवले आन्दोलनको बेला जेलमा परेका कतिपय कार्यकर्ताले आत्मसमर्पण गरेको स्तरमै मुचुल्का उठाउने गरेको उदाहरण दिँदै मन्त्री यादवले सिके राउतले सरकारसँग गरेको सहमति त्यही खालको रहेको बताएका छन् । उपप्रधानमन्त्री यादवले यादवले सिके राउतले विखण्डनको एजेण्डा छाडेको र त्यसले आफूहरुको राजनीतिमा सकारात्मक भूमिका निर्वाह गर्ने पनि बताए । ‘हामीलाई सिके राउत मूलधारको राजनीतिमा आउँदा खुशी नै लागेको छ, त्यसले कुनै असर गर्दैन,’ यादवले भने । उनले सिके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल समेत रहेको बताए ।

उपप्रधानमन्त्री यादवले प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र संघीय सरकारले आफ्नो मातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार खोसिएको नरहेको बताए । स्वास्थ्यमन्त्री समेत रहेका उपप्रधानमन्त्री यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबीन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५