CLASSICTECH NET

साफ महिला च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गर्दै नेपाल बन्यो समूह विजेता

खबर पूर्वाञ्चल, २ चैत्र २०७५, शनिबार १८:२३
नेपालकी सावीत्राले गरेको प्रहारलाई बंगलादेशकी किपर रुप्ना चक्मा बललाई रोक्ने प्रयासमा । तस्वीर सौजन्य एन्फा

पुष्पराज थपलिया
विराटनगर / बंगलादेशलाई पराजित गर्दै घरेलु टोली नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल समूह एको विजेता बनेको छ ।

विराटनगरको शहिद रंगशालामा भएको आज भएको लिगको अन्तिम खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको नेपाल साविक उपविजेता बंगलादेशलाई ३–० को सहज जित निकाल्दै समूह ए को विजेता बनेको हो ।

नेपालको जितमा साबित्रा भण्डारी र मञ्जली योन्जनले गोल गरिन् भने अर्को गोल १ गोल बंगलादेशले नेपालले उपहार दिएको थियो । नेपालले अब सेमिफाइनलमा समूह बि को उपबिजेतासँग बुधबार विहान ११ प्रतिस्पर्धा गर्नेछ ।
पछिल्लो समय गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । तर, पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले ३–० को सहज जित निकालेको हो ।

नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । बगलादेशकी मसुरा परभिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोल गरेपछि घरेलु टोली नेपाल अग्रता बनाउन सफल भयो ।

खेलको २३औं मिनेटमा सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले हिराकुमारी भुजेलको क्रस पासमा बंगलादेशकी गोलकिपर रुप्ना चक्मालाई बिट गर्दै गोल गरेकी थिइन् । साबित्राको अन्तराष्ट्रिय गोलसङख्या २६ पुगेको छ ।

सावित्राले गोल गरेको पाँच मिनेट बित्न नपाउँदै साबित्राकै क्रस पासको सदुपयो गर्दै मञ्जलीकुमारी योञ्जनले थप गोल गर्दै नेपालको अग्रतालाई तेब्बर पारिन् ।
पहिलो हाफमा ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा केही अवसर खेर फाल्यो । बंगलादेशका रक्षकले सम्हालिएर प्रदर्शन गर्दा नेपालले दोस्रो हाफमा गोल गर्न नकसेपनि ३ –० को गोलअन्तरले विजय भयो ।

खेलको ५ औं मिनेटमा सावित्रा भण्डारी वान भर्सेस् वानको गोल गर्न चुकेकी थिइनन् । घरेलु दर्शकको साथ पाएको नेपालले १० औं मिनेटमा कप्तान निरु थापाले वान भर्सेस् वानमा गोल गर्ने अवसर गुमाइन् ।

नेपालको पहिलो हफमा मिडफिल्ड निकै उत्कृष्ट देखिएको थियो तर, दोस्रो हाफमा सुस्तायो भने फरवार्ड लाइनका खेलाडी पनि चल्न सकेनन् ।

खेलको ५७औं मिनेटमा सावित्राले प्रहार गरेको बललाई बंगलादेशकी डिफेन्डर मसुरा पर्भिनले उत्कृष्ट बचाउ गरेकी थिइन् । बंगलादेशकी किपर रुप्ना चक्मा विट भइसकेको अवस्थाबाट पर्भिनले गोल लाइनबाट बल क्लियर गरेकी थिइन् ।

६४औं मिनेटमा पर्भिन नै फेरि बाधक बनिन् । सावित्राले प्रहार गरेको बल डिबक्सभित्रबाट पर्भिनले नै क्लियर गरेकी थिइन् ।

बंगलादेशले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पर्दशन गरेको थियो । खेलको ३३ औ मिनेटमा बंगलादेशकी मोसाम्मत सिरत जाहानले कडा प्रहारलाई नेपालको किपरअन्जीला तुम्वापो सुब्बाले डाइभ गरेर उत्कृष्ट बचाउ गरेकी थिइन् ।

खेलको अन्तिम मिनेटमा बंगलादेशले सान्तना गोल गर्ने अवसर गुमाएको थियो ।
बंगलादेशकी मोसाम्मत सिरत जाहानले कडा प्रहारलाई फेरी नेपालको किपर अन्जीला तुम्वापो सुब्बा बाधक बनिन् । मोसाम्मत वान भर्सेज वानमा प्रहार गरेकी बललाई किपर अन्जीला विफल पारेकी थिइन् ।

खेल अवधिभर नेपालले धेरै राम्रा अवसरको सदुपयोग गर्न सकेन । गोल गर्ने तीनवटा सुन्दर अवसरमा स्ट्राईकर सावित्रा भण्डारी चुकिन् । उनलाई हिराकुमारी भुजेलले गोल गर्ने अवसर सिर्जना गरिदिएकी थिइन । भुजेलले पटक–पटक सिर्जना गरिदिएको अवसरमा नेपाली स्ट्राईकर चुक्दा बंगलादेशमाथिको गोल अन्तरले नेपालले बढाउन सकेन ।

खेलपछि बंगलादेशका प्रशिक्षक गुलाम रब्बानी चोटोनले नेपाल शक्तिशाली टिम भएकाले पनि पराजित गर्न मुस्किल परेको बताए । ‘नेपाल अनुभवी खेलाडीले भरिएको टिम हो,’ उनले भने, ‘त्यहींमाथि उसले घरेलु मैदानको फाइदा उठाउन सक्यो ।’ खेलाडीले शतप्रतिशत खेले पनि स्कोर निकाल्न नसक्दा पराजय बेहोर्नु परेको उनले बताए । गोलरक्षक र रक्तापंक्तीका खेलाडीको कमजोरी आफ्नो हारको मुख्य कारण बनेको उनले बताए । ‘हाम्रा कमजोरीलाई मार्क गरिरहेका नेपाली खेलाडीले त्यही कमजोरीलाई टेक्दै प्रदर्शन गर्न सके,’ उनले भने, ‘दोस्रो हाफमा राम्रो प्रदर्शन गरे पनि खेलमा फर्कने सम्भावनै न्यून बनेर गएको थियो ।’

जितपछि नेपालका मुख्य प्रशिक्षक हरि खड्काले रणनीति अनुसार खेलाडीले प्रदर्शन गर्न सकेका कारण बंगलादेशमाथि जित सम्भव भएको बताए । उनले १५ मिनेट भित्रमै गोल गरेर डोमिनेट गर्ने रणनीति सफल हुँदा नेपालको जित सम्भव भएको बताए । खड्काले अब भारतसँगको प्रतिस्पर्धाका लागि रणनीति तयार गरेर अघि बढ्ने पनि बताए । साफ महिलाको चारवटै उपाधि भारतले कब्जा गरिसकेको छ । नेपाल तेस्रो संस्करणसम्मको उपविजेता टिम हो भने बंगलादेश साविकको उपविजेता टिम हो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५