CLASSICTECH NET

विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिपमा आज बंगलादेश र भुटान भिड्दै, साफमा पहिलो जितको खोजीमा भुटान

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७५, बिहीबार ०८:३१

विराटनगर / विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपअन्तर्गत आज साविक उपविजेता बंगलादेश र प्रतियोगितामा कमजोर मानिएको भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

आयोजक टिम नेपालसँग उद्घाटनमा भएको खेलमा ३–० को फराकिलो गोल अन्तरले पराजित भुटानले लिगको अीनतम खेलमा प्रतियोगिताको दावेदार राष्ट्र बंगलादेशसँग आमने सामने भएको छ । भुटान महिला साफको इतिहासमा पहिलो जितको खोजीमा हुनेछ । ‘ड्रागन गर्ल्स’को उपमाले परिचित भुटानी टोलीले सन् २०१० यता बंगलादेशसँग तीन पटकको सामना गर्दै तीनै पटक पराजित भएको छ । पहिलो साफअघिको मैत्रीपूर्ण खेलमा ७–० ले पराजित बनेको भुटानी टोली साफको पहिलो संस्करणमा ९–० ले पराजित बन्यो ।

सन् २०१२ को दोस्रो संस्करणमा समेत टोली १–० गोलले पराजित बन्यो । बंगलादेशविरुद्ध भुटानले तीन खेलमा कुल १७ गोल खाएको छ । साफमा भुटानी टोलीको उत्कृष्ट नतिजाको रुपमा सन् २०१० मा समूह चरणमा श्रीलंकासँग १–१ गोलको बराबरी रहेको छ ।

त्यसैगरि, एकपटक साफको उपविजेता बनिसकेको बङ्लादेश भने भूटानमाथि दबाव कायम राख्न चाहन्छन् । पहिलो साफबाटै अघि बढेको बङलादेशले हालसम्म १५ खेल खेलेको छ। जसमा ७ मा जित, १ मा बराबरी र ७ मा हारको सामना गरेको छ।

बङलादेशले चौथो संस्करणमा उपविजेता र त्यसअघि दुइपटक सेमीफाइनलसम्मको यात्रा तय गरेको छ। यद्यपि साफमा भूटानले हालसम्म १२ खेलमा एकमा बराबरी गरेको छ भने, १२ खेलमा हार ब्यहारेको छ।

भूटानले पहिलो साफमा श्रीलंकाविरुद्ध समान एक गोलको बराबरी गरेको थियो । त्यसयता भूटानको टोली जितको खोजीमा रहेको छ । बंगलादेशी टिम साफको गत संस्करणको उपविजेता र दुई संस्करणको सेमिफाइनलिष्ट टिम समेत हो । साफको कुल १५ खेलमा सात जित, एक बराबरी र सात खेलमा पराजित बनेको टोली भुटानविरुद्धको खेलमा स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्ने रणनीतिमा हुनेछ । भुटानविरुद्ध बंगलादेशले ४–० को फराकिलो जित निकालेको खण्डमा नेपाली टोलीलाई फाइनल पुग्न चुनौती थपिनेछ । यदि बंगलादेशले भुटानलाई ४–० को गोल अन्तरले पराजित गरे नेपालले बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दवाव रहन्छ ।

सन २०१६ को चौथो साफको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा रोक्दा त्यसको घाटा नेपाललाई भएको थियो । गोल अन्तरले दोस्रो भएको भारतले सेमिफाइनलमा समूह ‘ए’ बाट बिजेता बनेको नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइलनमा बंगलादेशलाई समान ३–१ गोल अन्तरले नै हराएर लगातार चौथो उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५