पूर्वाञ्चल खबर
विराटनगर / फागुन २८ गतेदेखि विराटनगरमा हुने पाँचौं महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । महिला साफ फुटबल प्रतियोगितालाई लक्षित गरि मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । काठमाडौं बाहिर गरिएको खेल सफल भएमा अन्य खेल विराटनगरमा ल्याउन पनि सहज हुने बताउँदै अध्यक्ष शेर्पाले सबैलाई सहयोग गर्न अनुरोध गरे ।
विराटनगर महानगरपालिकाको १ करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । २६ गतेबाट खेलाडी तथा अन्य एन्फाको व्यवस्थापकीय टिम विराटनगरमा आउने पनि जानकारी दिए ।
प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने आयोजकले जनाएको छ । नेपाल, भारत, भुटान,, बंगलादेश, मालद्विप्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने जनाइएको छ । यस्तै सम्पूर्ण तयारी तिव्र गतिका साथ धमाधम भैरहेको पनि अध्यक्ष शेर्पाले बताए ।