RUMPUM
animated ellipse animated ellipse

सिमसार संरक्षणमा चुनौती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७५, शनिबार १९:२५
3
Shares

बेलबारी / विश्व सिमसार दिवसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सिमसारको संरक्षण गर्न धेरै चुनौतिहरु रहेको बताएका छन् ।

वन डिभिजन कार्यालय मोरङ र सिमसार संरक्षण समिति नेटवर्क मोरङले संयुक्त रुपमा बेलबारीको वेतना सिमसारमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले त्यस्तो बताएका हुन् ।

प्रदेश सभा संसद राजकुमार ओझाले सिमसार बचाएर स्थानीयलाई लाभ दिने काम गर्नु पर्ने तर स्थानीय मानिसलाई बास उठाएर वन्यजन्तु आरक्ष वा निकुञ्ज बनाउन नहुने तर्क गरे । उनले मेचीदेखि कोशी नदीसम्म चुरेको फेदैफेद वन्यजन्तु संरक्षण क्षेत्र निर्माण गर्ने नीति निर्माण तहमा भइरहेकोले सोको आफूले विरोध गर्दै आएको बताए । प्रदेश सरकारले पहिचान खुलेका सिमसारलाई संरक्षण गर्न सहयोग गरेको र अब नयाँ सिमसारको खोजी गर्ने पनि उनले बताए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले नेपालका २० वटा जनजातिको जिविकोपार्जनको माध्यम सिमसार भएको बताए । उनले सिमसार किन जोगाउने भनेर प्रष्ट पार्दै आगामी दिनमा स्थानीय संरक्षण समितिहरुले संरक्षण र पर्यटकीय गुरुयोजना बनाएर काम गर्न आवश्यक छ भने । सिमसार जीवन र सँस्कृतिसँग गाँसिएकोले यसलाई जोगाए सँस्कृति जोगिने र साँस्कृतिक सहिष्णुता कायम रहने उनले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै वातावरणविद् रामचन्द्र अधिकारीले सिमसार जैविक विविधताको खानी,प्रदूषणका नाशक,जलवायु परिवर्तनको न्यूनिकारक भएकोले संरक्षण गर्न आवश्यक रहेको बताए । उनले बाहिरी जीवको प्रकोप, मानवीय गतिविधि,थिग्रणसमस्या, रासायनिक मल र विषादिको प्रयोग आदी सिमसारका चुनौती भएको औल्याए । मोरङ जिल्लाका सिमसारलाई उचित संरक्षण र सम्वद्र्धन गर्न सके यिनलाई रामसार साइटमा दर्ज गर्न प्रस्ताव गर्न सकिने भविष्य रहेको समेत देखाए ।

सामुदायिक वन महासंघका उपाध्यक्ष रामकृष्ण राईले जनजाति र सिमसार सदियौँदेखि अन्तरसम्बन्धित छन् त्यसैले जनजातिको सँस्कृति जर्गेना गर्न सिमसारको पनि जर्गेना गनु पर्नेमा जोड दिए । सिमसार नेटवर्कका अध्यक्ष डम्बर बस्नेतले सिमसारको महत्व बुझ्न,बुझाउन र संरक्षणमा सबैलाई समाहित गर्न दिवस मनाउन जरुरी ठानेको बताए । उनले आफ्नो वेतना सिमसारलाई उच्च कोटीको बनाउन निरन्तर प्रयास गरिरहेको पनि बताए ।
विश्व सिमसार दिवस हरेक साल फेब्रुअरी दुर्ई तारिखमा मनाइन्छ । रामसार सम्मेलन भएको मितिलाई आधार मानेर सन् १९९७ देखि यो दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर