पूर्वाञ्चल खबर
विराटनगर / १ नम्बर प्रदेशको सोलुखुम्बु र मोरङ जिल्लामा आगलागी हुँदा अन्दाजी ६२ लाख मूल्य बराबरको क्षति भएको छ ।
सोलुखुम्बुको खुम्बु(पासाङल्हामु गाउँपालिका २ का रेन्जि शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ५७ लाख २ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ । आगलगीबाट शेर्पाको घरमा भाडामा लिएर बस्दै आईरहेका सोताङ् गाउँपालिका ४ का लाखमान तामाङको परिवार बस्दै आएकोमा दिउँसो बिद्युतको मिटर बक्स सर्ट भएर आगलागी भएको थियो ।
आगलगीबाट घरसहित घर भित्र रहेको नगद १ लाख २० हजार, काठपात,अन्नपात, भाडा वर्तन, लत्ताकपडा र ३ तोला चाँदी जलेर नष्ट भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । त्यसैगरी मोरङको सुन्दर हरैँचा नगरपालिका ४ गछियामा कृष्ण ढकालको घरमा सोही स्थान बस्ने खगेन्द्र बस्नेतले सञ्चालनगरेको ईलेक्ट्रोनिक्स र हार्डवयर पसलमा आगलगी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।राती ११ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा पसलमा रहेको हार्डवेयर र इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ । उक्त आगलागी ईटहरी र सुन्दर हरैचा(नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी चौकी गछियाले जनाएको छ ।