पूर्वाञ्चल खबर
विराटनगर /राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षालाई उत्पादनसँग जोडेर लैजानु पर्ने बताइन् । आज विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रका चुनौती समाधानमा लाग्न आग्रह समेत गरेकी हुन् ।
विश्वविद्यालय ज्ञान, विज्ञान, अध्ययन, अनुसंद्दान, संस्कार, संस्कृति, चिन्तन र मननको अनुपम केन्द्र भएको राष्ट्रपति भण्डारीले बताइन् । उनले विश्वविद्यालयले आजको युगले मागे अनुसारको अध्ययन अध्यापनलाई अघि बढाएको विश्वास गरेको भन्दै उनले गुणस्तरीय शिक्षा दिन नसक्दा वालवालिका र यूवाहरुलाईसमेत अध्ययनकालागि विदेश पलायन हुने अवस्था अन्त्य गर्न विश्वविद्यालयले योगदान गर्नु पर्ने बताइन् ।

देशको उत्पादन प्रणालीसँग शिक्षालाई सहि ढंगले जोड्न नसक्दा यूवाहरु रोजगारीकालागि विदेश पलायन हुने तथा स्वदेशमा दक्ष जनशक्ती अभाव हुने अवस्था आएको राष्ट्रपति भण्डारीले बताइन् ।

पूर्वी नेपाल अपार प्रकृतिको धनी तथा अन्न भण्डारको रुपमा रहेको हुँदा त्यसको सदुपयोग गरेर समृद्धी प्राप्त गर्ने अभियानलाई विश्वविद्यालयले नेतृत्व गर्नु पर्ने राष्ट्रपति भण्डारीले बताइन् । उनले यतिबेला बलियो र स्थिर सरकार रहेको बेला त्यस्तो सकारात्मक अवसरलाई सबैले सदुपयोग गरेर अघि बढ्नु पर्ने समेत बताइन् ।
पूर्वी नेपाल अपार प्रकृतिको धनी तथा अन्न भण्डारको रुपमा रहेको हुँदा त्यसको सदुपयोग गरेर समृद्धी प्राप्त गर्ने अभियानलाई विश्वविद्यालयले नेतृत्व गर्नु पर्ने राष्ट्रपति भण्डारीले बताइन् । उनले यतिबेला बलियो र स्थिर सरकार रहेको बेला त्यस्तो सकारात्मक अवसरलाई सबैले सदुपयोग गरेर अघि बढ्नु पर्ने समेत बताइन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले हिजोको ढर्राबाट विश्वविद्यालय चल्न नसक्ने भन्दै पारदर्शिता र सुशासन स्थापना गर्न आवश्यक रहेको बताए । उनले विश्वविद्यालयको अथाहा जमिन र संरचना भएको गोठगाउँलाई मुख्य केन्द्र बनाउन आवश्यक भएको समेत बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए ।
सोही अवसरमा पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. द्रोणनारायण लाललाई मरणोपरान्त, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, विराटनगर महानगरपालिकाका पूर्वमेयर अशोक कोइराला, तथा पूर्वउपकुलपति तुलबहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्वप्रमुख कृष्ण पोखरेललाई राष्ट्रपतिद्वारा सम्मान गरिएको छ । कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले रजत स्तम्भ पनि उद्घाटन गरेकी थिइ्न् ।
२०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालय अन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । विश्विद्यालयमा ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु, संचालन भइरहेका छन् ।