ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आफैले २ वर्ष आयोजना गर्दा घाटामा रहेको विराट गोल्डकपले जिम्मा लगायो नविन रिजाललाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०८१, बिहीबार १७:३९
1.02k
Shares
विराटनगर / आफैले २ वर्ष आयोजना गर्दा घाटामा रहेको विराट गोल्डकप आयोजनाको जिम्मा पुन : निजी क्षेत्रलाई दिइएको छ ।

पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं संस्करण पनि रिजालले नै गरेका थिए ।

गोल्डकपको ७ र ८ औं संस्करणमा लगातार ठूलो घाटामा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९ औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो ।

२०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी तथा तत्कालीन मोरङ व्यापार संघका महासचिव नवीन रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रिकालीन फुटबल भएको थियो ।

रिजालले सहिद मैदानमा अस्थायी रुपमा बाँसको फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रिकलीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए ।

९ औं संस्करणको जिम्मेवारी पाएसँगै रिजालले भने,‘५ औं संस्करणमा एउटा इतिहास कोर्न सफल भएका थियौं । त्यसैले पनि होला ट्रष्टले यस पटक पुनः मलाई जिम्मेवारीले दिएको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि हाम्रो टीमले मोरङ उद्योग व्यापार संघमै सचिवालय राखेको छ । भारत र भुटानसहित नेपालको ‘ए’ डिभिजन क्लब गरी १० टोलीको प्रतियोगितामा सहभागीता हुनेछ ।’

२०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट हुँदै आएको गोल्डकप २०६८ सालबाट भने नाम रुपान्तरण हुँदै ‘विराट गाल्डकप’मा भएको थियो ।

देशमा भएको राजनैतिक परिवर्तनसँगै प्रतियोगिताको नाम पनि परिवर्तन भयो । सोही क्रममा पहिलो र दोस्रो संस्करणमा तत्कालीन ट्रष्टका अध्यक्ष भीमबहादुर कुवँरले आयोजना गरेको गोल्डकप घाटामा गएपछि ट्रष्टले २०७१ सालबाट निजी क्षेत्रलाई गोल्डकप आयोजना गर्ने जिम्मेवारी दिन थालेको थियो ।

त्यसक्रममा, २०७१ र २०७२ सालमा विराटनगरका उद्योगी राजेन्द्र राउतलाई ट्रष्टले गाल्डकपको संयोजक बनाएर आयोजना गरेको थियो । त्यस बेला संयोजक राउतले गोल्डकपलाई केही मुनाफा दिलाउन सफल भए ।

२०७३ सालमा ट्रष्टभित्र आपसी खिचातानीका कारण गोल्डकप हुन सकेन । २०७६ सालमा कोभिडको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

ट्रष्टमा रहेका मनोजविक्रम शाहलाई २०७७ र ०७८ सालको छैटौं संस्करणको संयोजकको जिम्मेवारी दिइएको थियो । कोभिडको महामारी फैलिरहँदा शाहलाई गोल्डकप गराउन चुनौती नै थियो । यद्यपि, उनले ट्रष्टलाई आर्थिक सहयोग हुने अपेक्षासहित जिम्मेवारीलाई सफलतापूर्वक पूरा गरेका थिए । ट्रष्ट फेरि एक पटक नयाँ संयोजकको खोजीमा गर्ने क्रममा २०७९ सालमा विराटनगर महानगरले गोल्डकपको अभिभावकत्व गर्दै संयोजन गर्ने जिम्मेवारी लियो ।

सन्तोष बानियाँ नेतृत्वमा रहेको ट्रष्ट परिवारभित्र ७ औं संस्करणको गोल्डकप सोचे अनुसारको हुन सकेन । गाल्डकपले ८७ लाखभन्दा बढी नोक्सानी व्यहोरेको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यसअघि उद्योगीहरुलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिँदा नाफा कमाएको गोल्डकपले २०७९ सालमा घाटामा जानु पर्याे ।

यसक्रममा ट्रष्ट परिवारका सदस्यहरू भने असन्तुष्ट देखिए । त्यसपछि नेतृत्व गरिरहेका बानियाँले २०८० सालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै जिम्मेवारी ट्रष्टका उपाध्यक्ष किशोरबहादुर शाहीलाई दिए ।

अध्यक्ष शाहीले आफ्नो नेतृत्वमा ८ औं संस्करण आयोजना गर्दा ठूलो घाटा व्यहोर्नु पर्याे । ट्रष्ट आफैंले प्रतियोगिता गर्दा २२ लाख ६२ हजार ८ सय ८ रुपैयाँ घाटा भएको आर्थिक प्रतिवेदन प्रतियोगिता सम्पन्न भएको १० महिनापछि सार्वजनिक गर्याे ।

‘कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले दिइने भनिएको आर्थिक सहयोग नपाएपछि घाटा व्यहोर्नु पर्याे । हामीले ट्रष्टलाई नाफामा लैजाने अवस्थामा थियौं ,’ उनले भने,‘तर, सरकारी निकायबाट दिइने भनिएको रकम उपलब्ध नभएपछि घाटा व्यहोर्नु परेको हो ।’

गोल्डकपको पूर्वनिर्धारित समय भने केही फेरबदल भएको छ । शाहीले भने, ‘होलीका कारण एन्फाले दिएको फागुन २२ गतेको समय अघि सारेका छौं । अब गोल्डकप फागुन १० गतेबाट १८ गतेसम्म हुनेछ । ट्रष्टले गोल्डकप आफैले आयोजनाको तयारी गरेको भए पनि आर्थिक अवस्थाका कारणपछि हट्नु पर्याे ।’

अन्य प्रतियोगितामा प्रत्येक वर्ष पुरस्कार राशि वृद्धिका साथ खेलाडीहरुलाई दिइने सेवासुविधामा पनि वृद्धि हुने गरेको छ । तर, विराट गोल्डकपमा भने विगतका वर्षमा दिँदै गरिएको पुरस्कार राशि र खेलाडीको सुविधासमेतमा कमी गरिएको थियो । ट्रष्ट आफैं गर्दा आर्थिक संकलन कम भएको हुँदा पुरस्कार राशि घटाउनु परेको बताइएको थियो । गत वर्ष प्रतियोगिता गर्दा यसका साथै प्रतियोगिता आयोजना गर्दा उद्योगी, व्यापारीबाट खासै सहयोग नपाएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर