पूर्वाञ्चल खबर
विराटनगर / साढे २ दशकभन्दा लामो समयदेखि नेपाली साहित्य लेखनमा सक्रिय कवि निर्मला कोइरालाको ‘घाम समातेर’ कवितासंग्रह विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाको ‘घाम समातेर’ कवितासंग्रह विमोचन गरिएको हो । कार्यक्रममा अग्रज कवि विश्वविमोहन श्रेष्ठ, दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गरेका थिए । समसामयिक विषयमा सरल भाषाशैलीमा लेख्न रुचाउने कोइरालाको विमोचित कवितासंग्रहमा ३७ वटा कविता समावेश छन् ।
संग्रहको समीक्षा समालोचक भूषण ढुंगेलले गरेका थिए । ढुंगेलले वर्तमान नेपाली समाजले भोग्नु परेका पीडालाई कोइरालाले कवितामार्फत सशक्त रुपमा उठाएको बताए । कवि राधिका गुरागाईं र भरत गुरागाईंले संग्रहभित्रका कविता वाचन गरेर सुनाए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अग्रज कवि विश्वविमोहन श्रेष्ठ, दधिराज सुवेदी, शिक्षक संघका नेता ईश्वर निरौला, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले विमोचित कवितासंग्रहका विषयमा चर्चा गरेका थिए ।